नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले यतिबेला पार्टीलाई पुनर्जागृत गर्न र स्थानीय तहको चुनावको तयारीमा केन्द्रित बन्न आग्रह गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्। उनले अहिलेको आवश्यकता यही भएको बताउँदै अरू कसैबाट भ्रमित नबनेर जनतातिर फर्कन आग्रह गरे।
उनले भने, 'अरू कसैबाट भ्रमित नबनौं, जनतातिर फर्कौ। हाम्रो जय यसैमा छ। हामी यतिबेला पार्टीलाई पुनर्जागृत गरौ र स्थानीय तहको चुनावको तयारीमा केन्द्रित बनौं। अहिलेको आवश्यकता यही हो।'
भट्टराईले संसद् पुनर्स्थापनाको व्यर्थ बहस नगर्न र चुनावमा भाग लिएर करारी हार व्यहोरी सकेपछि फेरि पुरानै संसद् चाहियो भन्नु नैतिक दृष्टिकोणबाट पनि उपयुक्त नभएको भनाइ राखे। उनले एउटा जिम्मेवार राजनीतिक शक्तिलाई सुहाउने कुरा पनि नभएकाले यस्तो विषयले केन्द्रीय कमिटीमा विचारविमर्शको योग्यता पनि नराख्ने बताए।
नेतृत्वले कथम चाहिहाल्यो भने विषय त बन्न सक्ने भए पनि यो जनताबाट पार्टीलाई थप टाढा धकेल्ने कुरा मात्र हुने उनको जिकिर छ। हिजो संसद्, सरकार, सत्ता सबै साथमा हुँदा मुद्दाहरूमा खासै केही गर्न नसकेको बताउँदै उनले भने, 'नेतृत्वले कथम चाहिहाल्यो भने विषय त बन्न सक्ने भयो। तर यो जनताबाट पार्टीलाई थप टाढा धकेल्ने कुरामात्र हुनेछ। हिजो संसद्, सरकार, सत्ता सबै साथमा हुँदा त मुद्दाहरूमा खासै केही गर्न सकिएन। अहिले त धेरै टाढा छौं, व्यर्थको झमेलातिर नलागौं। मुर्छित एमालेलाई ब्युझाउन हामीलाई कसैले एकमुठी पानी छम्किनेवाला छैन।'
प्रकाशित: २७ भाद्र २०८३ ०९:०९ शनिबार





