प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर प्रभावकारी रूपमा ‘कमान्ड’ गर्न सक्ने हैसियतको नेतृत्व आवश्यक रहेको बताएका छन्।
सभाको आजको बैठकको विशेष समयमा बोल्दै रास्वपाका सांसद खरेलले प्रधिकरणको अहिलेको संरचनाबाट विपद् व्यवस्थापनको सम्पूर्ण चक्रअन्तर्गत जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका काम सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न सहज नभएको बताउँदै यस विषयमा गम्भीर बहस आवश्यकता औँल्याए।
सांसद खरेलले भोटेकोशी बाढी विपद्पछि सरकारको खोज, उद्धार र राहत प्रयास सराहनीय भए पनि पर्याप्त नहुनुमा प्राधिकरणको कमजोर संरचना भएको धारणा राखे।
उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली, २०७६ अनुसार बनेको प्राधिकरण तथा यसको वर्तमान संरचनाले अब प्रभावकारी रूपमा काम गर्न नसक्ने बताए। उनले भने, ‘प्राधिकरणलाई प्रधानमन्त्रीअन्तर्गत राख्नुपर्छ।’
सांसद खरेलले नेपाल अहिले गहिरो शोकमा रहेको उल्लेख गर्दै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।
उनले बेपत्ता तथा घाइतेका परिवारसँग सरकार र सांसदहरू साथमै रहेको प्रतिबद्धता व्यक्त गरे। उनले असामान्य, अकल्पनीय र अप्रत्याशित परिस्थितिमा उद्धार कार्य सहज नभएको उल्लेख गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति आभार व्यक्त गरे।
प्रकाशित: १८ भाद्र २०८३ १८:०६ बिहीबार



-600x400.jpg)

-600x400.jpg)