३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

बाँदरबाट बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं : श‌कर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेका छन् । उनले मान्छेको उठिबास लगाउने गरी बन्यजन्तुको संरक्षण गर्न नसकिने बताएका छन् ।

बाँदर, बँदेल, दुम्सीजस्ता जनावरले बाली खाएर किसानलाई उठिबास लगाएका विषय संसदमा सम्म चर्को रुपमा उठिरहेका बेला पोखरेलले सामाजिक सञ्जाल मार्फत अन्तराष्ट्रिय अभिसन्धी र कानुनको बहाना देखाएर किसानलाई थातथलो  खेतिपातीबाट बेदखल गर्ने काम न्यायोचित नभएको स्पष्ट पारेका छन्।

प्रकृति र मानवबीच सन्तुलन आवश्यक हुने तर मान्छेको उठिबास लाउने सन्तुलन प्रभावी नहुने बताएका छन् । ‘बाँदर,बँदेल र दुम्सीको आतंकले कृषिकर्ममा आश्रित किसानहरु विस्थापित भइरहेका छन्’ पोखरेलले लेखेका छन् ‘प्रकृति र मानवबीच सन्तुलन चाहिन्छ तर मान्छेकै उठिबास लाग्ने गरी होइन ।’

संरक्षण क्षेत्र भित्र नै सबै प्रकारका पशुपंक्षीको  संरक्षण गर्नुपर्ने उनको धारणा छ । यसका लागि संरक्षण क्षेत्र बिस्तार गर्न सकिने उनको राय छ । पोखरेलले बन्यजन्तुबाट बाली जोगाउन कृषि क्षेत्रका लागि फरक नीति आवश्यक रहेको उल्लेख गरेका छन् ।  

बन्यजन्तु आतंकका कारण कृषि उत्पादन र किसानलाई संरक्षण गर्न उनले आहवन गरेका छन् । ‘कृषि उत्पादन र किसानका लागि संरक्षणकारी नीति र कानुन निर्माण गरौं’ पोखरेलले लेखेका छन् ‘अब त निकै ढिला भइसक्यो ।’

प्रकाशित: ३० जेष्ठ २०८३ १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App