संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक (नेपाल वायुसेवा निगम)को पुनर्जागरणका लागि सबै इमान्दार बन्नुपर्ने बताएका छन्।
नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार भएर लाग्नुपर्ने बताए। निगमको विकासमा अहोरात्र खटिने इमान्दार, नैतीकवान र जिम्मेवार कर्मचारीको वृत्तिविकासमा मन्त्रालयले ध्यान दिने र अनियमितता गर्ने जोकोहीलाई कारबाही गरिने बताए।
मन्त्री पौडेलले निगमको प्रगतिका लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निगमका सम्पूर्ण कर्मचारीलाई कुशलतापूर्वक र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए।
कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमलाई बलियो बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । उनले विगतका अनुभवबाट शिक्षा लिँदै स्पष्ट दृष्टिकोणका साथ निगमलाई अघि बढाउनुपर्ने बताए।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विभिन्न चुनौतीका बाबजुद पनि पछिल्लो समय यात्रुको सङ्ख्या र आम्दानी वृद्धि हुनु सकारात्मक पक्ष रहेको बताए।
प्रकाशित: १७ असार २०८३ १७:२० बुधबार





