कानुन, न्याय तथा मानव अधिकार संसदीय समितिकी सभापति समीक्षा बास्कोटाले कानुनमा अधिकार सुनिश्चित भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएसम्म उपलब्धिको वास्तविक अनुभूति हुन नसक्ने बताएकी छन् ।
दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन तथा अधिवेशनलाई सम्बोधन गर्दै बास्कोटाले कानुनी उपलब्धि कार्यान्वयनमा आए–नआएको विषय महत्वपूर्ण हुने बताइन् ।
‘समाजमा विभिन्न कानुनी उपलब्धि प्राप्त गरेका छौं होला, तर ती उपलब्धि साँच्चिकै कार्यान्वयन भएका छन् कि छैनन् भन्ने प्रमुख विषय हो,’ उनले भनिन्, ‘अक्षरमा लेखिएका उपलब्धि कार्यान्वयन तहमा नजाँदासम्म त्यसको अनुभूति गर्न सक्दैनौं ।’
उनले विभेद अन्त्यका लागि समाज र घरपरिवारबाटै रूपान्तरण आवश्यक रहेको बताउँदै त्यसका लागि आफूहरू कति तयार छन् भन्ने विषयमा पनि गम्भीर हुनुपर्ने धारणा राखिन् ।
नयाँ पुस्तालाई विभेदबारे सचेत गराउने क्रममा विगतका विभेद निरन्तर सिकाइरहने कि त्यसको अन्त्यका लागि नयाँ सोच विकास गर्ने भन्ने विषयमा समेत सोच्नुपर्ने उनले बताइन् ।
‘जसले आफ्नै आँखाले विभेद देखेको हुँदैन, उसलाई समाजमा विभेद छ भनेर पढाइरहेका छौं । त्यो समाजको आवश्यकता हो वा नयाँ पुस्तालाई पनि यही व्यवस्था थियो भनेर सचेत गराइराख्ने काम हो भन्ने विषयमा सोच्ने बेला आएको छ,’ उनले भनिन् ।
प्रकाशित: २७ भाद्र २०८३ १६:०६ शनिबार





