जुम्लाको राजनीतिक परिवेश पछिल्ला दिनहरूमा असामान्य तवरले तातिएको छ। १० दलको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीले जुम्लाका ८ वटै स्थानीय तहमा एकैदिन गरेको ‘एकता सन्देश भेला’ ले कर्णालीको राजनीति नयाँ मोडतर्फ प्रवेश गर्ने संकेत देखाएको छ।
पार्टीका नेता नवराज न्यौपानेका अनुसार चन्दननाथ नगरपालिका, कनकासुन्दरी, सिंजा, हिमा, तिला, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकामा भएको भेला पार्टी एकताको पहिलो ठूलो जनप्रदर्शनका रूपमा सफल भएको छ।
विभिन्न ठाउँमा देखिएको उत्साह पार्टी विस्तारका लागि सकारात्मक संकेत भएको उनको भनाइ छ। मंसिर महिनाको कठ्यांग्रिने मौसमका कारण प्रशासनिक तथा राजनीतिक गतिविधि सामान्यतया सुस्त हुने जुम्लामा उल्टै भेला असाधारण रूपमा भव्य भएको पार्टीले दाबी गरेको छ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १० दल एकीकृत भएर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टीले जुम्लालाई आफ्नो संगठन विस्तारको ‘मोडेल जिल्ला’ बनाउन खोजिरहेको केन्द्रीय सदस्य नरेश भण्डारीले बताए।
आठै स्थानीय तहमा नेतृत्व परिचालन गरी अलग–अलग संरचनाले एउटै सन्देश बोकेर उपस्थित हुनु नयाँ एकीकृत पार्टीको संगठनात्मक क्षमताको परीक्षण जस्तै भएको छ।
कार्यक्रममा सम्बोधन गर्ने नेताहरूले आगामी महिनाहरूमा प्रदेशभर यस्तै एकता प्रदर्शन हुने र पार्टी भित्रको समन्वय अझ मजबुत बनाउने दावी गरेका छन् ।
जुम्लाको भौगोलिक परिस्थिति, चिसो मौसम र सीमित पूर्वाधारबीच पनि आयोजना सफल हुनु पार्टी भित्रको तातो र व्यापक जनसहभागिताको संकेतका रुपमा बुझेको नेताहरूले बताएका छन् ।
प्रकाशित: ७ मंसिर २०८२ २०:४६ आइतबार





