नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नेतृत्व परिवर्तन र नीति परिमार्जनका लागि २०८३ वैशाखसम्म पर्खन आग्रह गरेका छन्।
पार्टीका दुई महामन्त्रीको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र चलिरहेको समयमा सोमबार एक अपिल जारी गर्दै खड्काले यस्तो आग्रह गरेका हुन्।
खड्काले अहिलेको विशेष महाधिवेशन छाडेर पार्टी एकताबद्ध भई फागुन २१ को चुनावमा होमिनुपर्ने र त्यसलगत्तै हुने नियमित महाधिवेशनबाट नेतृत्व फेर्न सकिने विकल्प अघि सारेका छन्।
पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको मागलाई सम्बोधन गर्दै कार्यवाहक सभापति खड्काले अपिलमा भनेका छन्, ‘प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदैछ।’
उनले हतारमा विशेष महाधिवेशन गर्नुभन्दा केही महिनापछि हुने नियमित महाधिवेशनबाटै निकास खोज्न असन्तुष्ट पक्षलाई आग्रह गरेका छन्।
मुलुकमा प्रतिनिधि सभा विघटन भई संक्रमणकालीन अवस्था सिर्जना भएको भन्दै खड्काले अहिले आन्तरिक किचलोभन्दा चुनाव मुख्य प्राथमिकता हुनुपर्ने बताएका छन्।
‘आगामी फागुन २१ गते तोकिएको निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याउन कांग्रेस एकताबद्ध हुन अपरिहार्य छ,’ उनले भनेका छन्।
देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि (विशेष महाधिवेशन) रोक्न उनले केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संस्थाहरूलाई विशेष अनुरोध गरेका छन्।
कार्यवाहक सभापतिले २०८३ वैशाखमा नेतृत्व परिवर्तनको आश्वासन दिए पनि यता महामन्त्रीद्वयको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र जारी छ।
असन्तुष्ट पक्षले नेतृत्वले अल्मल्याउन खोजेको भन्दै तत्काल सुधारको माग गरिरहेको छ।

प्रकाशित: २८ पुस २०८२ १६:१३ सोमबार





