२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

संसद्‍मा पठाउने विधेयकबारे मन्त्रालयहरूसँग छलफल गर्दै कानुन मन्त्रालय

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ मा संघीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरुसँग छलफल प्रारम्भ गर्दैछ।

कानुनमन्त्री सोविता गौतमले बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल तथा महिला, बालबालिका, लैगिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र सचिव राधिका अर्यालसँग छलफल गर्न लागेको कानुन मन्त्रालयले जनाएको छ।

महिलामन्त्री वादीसँग ३ बजे र भूमिमन्त्री रावलसँग ४ बजे कानुन मन्त्रालयमा छलफल हुनेछ। मन्त्रीहरूसँग के-के विधेयकको तयारी भइरहेको छ भनेर ब्रिफिङ लिने र आवश्यक समन्वय गरिने बताइएको छ।

विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र संघीय संसदमा पेस गर्ने विधेयकहरूको प्राथमिकताक्रमसहितको सूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ। यसका लागि सम्बन्धित मन्त्रालयले वार्षिक कार्यतालिकाको रूपमा विधेयकको सूची कानुन मन्त्रालयमा पेस गर्नुपर्छ। 'कानुनमन्त्रीले आगामी आर्थिक वर्षमा पेस गर्ने विधेयक फाइनल गर्न मन्त्रालयहरुसँग क्रमबद्ध छलफल गर्नुहुन्छ,' मन्त्रीको सचिवालयले भनेको छ, 'असारसम्म सबै विधेयकको सूची पठाउन कानुन मन्त्रालयले तयारी गरिरहेको छ।'

प्रकाशित: २८ जेष्ठ २०८३ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App