प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपालको सीमासम्बन्धी अभिव्यक्तिको विरोध गर्दै श्रम संस्कृति पार्टीले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा, “भारतले नेपालको मात्र होइन, नेपालले भारतको पनि सीमा रोकेको छ” भन्ने अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्ति देशविरुद्धको तथ्यहीन अभिव्यक्ति रहेको श्रम संस्कृति पार्टी ताप्लेजुङका नेता सन्तोष राईले बताए। उनका अनुसार प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै त्यसलाई सच्याएर देशवासीसँग माफी माग्नुपर्ने माग पार्टीले गर्दै आएको छ।
खबरदारी सभाअघि श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले विभिन्न नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले “दशगजा र सुस्ताको विवाद समाधान गर”, “कालापानी हाम्रो हो”, “लिपुलेक नै हाम्रो हो”, “लिम्पियाधुरा हाम्रो हो”, “हाम्रो भूमि फिर्ता गर”, “सुकुम्बासी समस्या समाधान गर” तथा “यो देश श्रमजीवी वर्गको पनि हो” लगायतका नारा लगाएका थिए।
प्रकाशित: २१ जेष्ठ २०८३ १९:०९ बिहीबार





