उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याएको ‘ब्लु बस’ योजनामाथि प्रश्न उठाएका छन्।
उनले महिलाको सुरक्षाका लागि विशेष व्यवस्था गर्नु सकारात्मक भए पनि साझा यातायातको ‘हरियो’ पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाउनु उपयुक्त नहुने बताएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘साझा यातायातले विद्युतीय सवारी (इभी) प्रवर्द्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाउँदै आएको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु उपयुक्त देखिँदैन। हरियो रङ केवल रङ मात्र होइन, वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक पनि हो। हामी हरेक क्षेत्रलाई हरित बनाउँछौँ भन्ने राष्ट्रिय संकल्प पनि हो। महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्नु स्वागतयोग्य पहल हो।’
उनले महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्ने कार्य स्वागतयोग्य भए पनि वास्तविक समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। घिसिङले थप भनेका छन्, ‘वास्तविक समाधान भनेको महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु हो। महिलाको सुरक्षा कुनै एउटा ‘ब्लु बस’ मा सीमित हुनु हुँदैन, सम्पूर्ण सार्वजनिक यातायात प्रणाली नै सुरक्षित, मर्यादित र महिलामैत्री बन्नुपर्छ। रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक छ।’
घिसिङले सरकारको प्राथमिकता रङ फेर्ने काममा भन्दा पनि महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित र विश्वासयोग्य बनाउने काममा हुनुपर्ने बताएका छन्। उनले थपेका छन्, ‘महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्छ। त्यतिबेला मात्र महिलाको समान सहभागिता र सुरक्षित जीवनयापनको वास्तविक सुनिश्चितता हुनेछ।’
सरकारले महिलाको सुरक्षित र निःशुल्क यात्राका लागि साझा यातायातका ८ वटा बसलाई निलो रङमा परिणत गरी ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि सारेसँगै यो कुरा चर्चामा रहेको छ।
प्रकाशित: २० असार २०८३ १०:३९ शनिबार



-600x400.jpg)

