गुठी संस्थानले आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमणमा परेको करिब दुई हजार एक सय रोपनी जग्गा फिर्ता ल्याएको छ।
जग्गा फिर्ता ल्याएको विषयलाई सस्थानका कार्यकारी प्रमुख शैलेशराज कुँवरले आफ्नो कार्यकालको महत्तवपूर्ण उपलब्धि ठानेका छन्।
उनका अनुसार संस्थानले फिर्ता ल्याएको मध्ये धेरैजसो जग्गा मुद्दा दायरपश्चात अदालतको आदेशबमोजिम फिर्ता ल्याइएको हो।
देशभित्र रहेका राजगुठी तथा छुट गुठीको उचित व्यवस्था गर्ने उद्देश्यबाट संस्थान ऐन, २०२१ बमोजिम गुठी संस्थानको स्थापना भएको हो।
संस्थानको मातहतमा हाल काठमाडौं उपत्यकामा कालमोचन, भद्रकाली, पशुपतिनाथ मन्दिर परिसर, भक्तपुर, ललितपुर, धुलिखेल, जनकपुरधाम, जलेश्वर र वीरगन्जमा शाखा कार्यालय रहेका छन्।
हाल मधेस प्रदेशलगायत देशका विभिन्न ठाउँमा गुठी जग्गामाथि अतिक्रमण बढ्दै गएको छ। भइरहेको अतिक्रमण रोक्न, गुठी जग्गा संरक्षण गर्न, संस्थानको आम्दानी वृद्धि गर्न तथा सम्बन्धित मठलाई व्यवस्थित बनाउने उद्देश्यबाट २१ सय रोपनी क्षेत्रफलको गुठी तैनाथी जग्गा कानुनअनुसार फिर्ता ल्याइएको र ती जग्गा हाल भाडामा उपलब्ध गराई संस्थानको आम्दानी बढाइएको कुँवरले बताए।
उनका अनुसार संस्थानले फिर्ता ल्याउनुअघि यी जग्गा वीरगन्ज, रौतहट, जनकपुर, काठमाडौं, भक्तपुर तथा ललिपुरमा अतिक्रमणमा थिए।
आव २०८१/८२ मा गुठी संस्थानअन्तर्गत विभिन्न जिल्लामा रहेका करिब ४५ रोपनी जग्गा गुठीको नाममा दर्ता गरी गुठी तैनाथी पुर्जासमेत प्राप्त गरिएको संस्थानले जनाएको छ।
यसैगरी करिब ६० रोपनी जग्गा सर्वोच्च अदालतबाट गुठीको नाममा कायम हुने गरी अन्तिम फैसला भइसकेको छ। फैसलापछि उक्त जग्गाको पुर्जा प्राप्त भई कानुनबमोजिम गुठीको नाममा ल्याउने प्रक्रियामा रहेको संस्थानको भनाइ छ।
सोही आवमा ४० वटा देवस्थलको पुनर्निर्माण तथा जिर्णोद्धार कार्य पूरा भएको र भद्रकाली परिसर र महांकाल मन्दिर परिसर पुनर्निर्माणको अन्तिम चरणमा रहेको संस्थानले जनाएको छ।
यस कामलाई संस्थानले आफ्नो उपलब्धि ठानेको छ। गुठी संस्थान (कार्य व्यवस्था) विनियम, २०४९ अनुसार संस्थानले आफ्नो अधिकार क्षेत्रभित्रको जग्गासम्बन्धि छुट्टै लगत तयार गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
हाल मुलुकभर ७० जिल्लामा संस्थानको जग्गा रहेको छ। त्यसमध्ये पहाडमा पाँच लाख ६१ हजार नौ सय ९० रोपनी तथा तराईमा ६६ हजार तीन सय ३० बिगाहा जग्गा गुठीको नाममा रहेको देखिएको छ।
कुँवरले संस्थानको नेतृत्व सम्हालेपछि विभिन्न सरकारी निकायले प्रयोग गरिआएका जग्गाको स्थान, कित्ता नम्बर, क्षेत्रफल तथा आफ्नो स्वामित्वमा रहेका गुठी तैनाथी, गुठी अधिनस्थ, गुठी नम्बरी र गुठी ऐलानी जग्गाको विस्तृत विवरण तथा मठमन्दिरमा रहेको अमूल्य गरगहना र सम्पत्तिको लगत व्यवस्थित रूपमा राख्ने तयारी अघि बढाएका छन्।
महालेखा परिक्षकको ६२औं प्रतिवेदनले गुठी संस्थानको नाममा रहेका जग्गा तथा सम्पत्तिको अभिलेख, संरक्षण तथा उपयोग गर्ने व्यवस्था मिलाउन संस्थानलाई सुझाव दिएको छ।
कुँवरका अनुसार संस्थानले यसै वर्ष गुठी संग्रहालय स्थापना गर्ने समेत तयारी गरेको छ। महालेखाको प्रतिवेदनमा जनाइएअनुसार अझै पनि धनुषामा ४३ बिगाहा ११ कट्ठा, महोत्तरीमा ९८ बिगाहा आठ कट्टा, बारामा २७ बिगाहा, काठमाडौंमा १४ रोपनी, ललितपुरमा १२ रोपनी, पर्सामा सात बिगाहा, भक्तपुरमा दुई रोपनी, जनकपुर क्षेत्र विकास परिषदन्तर्गतका राम मन्दिर गुठी, लक्ष्मण मन्दिर गुठी, रत्नसागर गुठी, दशरथ मन्दिर गुठी, हनुमान नगर गुठीलगायतका गुठीहरूको विभिन्न एक हजार एक सय ८८ कित्ता र दाङको नारायणपुरमा रहेको करिब एक सय ५७ रोपनी जग्गा अतिक्रमणमा परेको छ।
अतिक्रमणमा परेको जग्गा क्रमशः फिर्ता ल्याउँदै जाने संस्थानको तयारी छ। गुठीयार तथा पुजारीको निःशुल्क स्वास्थ्यबिमा गर्ने तयारी संस्थानले अब गुठीयार, पुजारी, सन्त, महन्थको निःशुल्क स्वास्थ्यबिमा गर्ने तयारी गरेको छ।
यसका लागि संस्थानले धुलिखेल अस्पतालसँग सहकार्य गर्ने भएको छ। यस काममा अस्पतालका प्रमुख रामकण्ठ मकाजुसँग कुराकानी भइरहेको कुँवरले जनाए।
उनका अनुसार संस्थानले अब गुठीको कामकारबाहीलाई पूर्ण रूपमा प्रविधि मैत्री बनाउने तयारी गरेको छ। संस्थानसँग कर्मचारीहरूको दरबन्दी एक सय ९६ भए पनि हाल ४० जना मात्र कर्मचारी कार्यरत छन्।
प्रकाशित: ७ श्रावण २०८२ २०:५८ बुधबार





