राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले संसदमा प्रधानमन्त्रीको जवाफदेहितामाथि प्रश्न उठाएकी छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली मात्र नभएर निरन्तर संवादको अभ्यास भएको बताइन्। उनले प्रधानमन्त्रीको उपस्थिति केवल अनुहार हेर्न नभई सरकारबाट जवाफदेहिता खोज्न आवश्यक रहेको बताएकी छिन्।
उनले पहिलो अधिवेशनमा प्रधानमन्त्री नबोली सदनबाट बाहिरिएको प्रसंग सगैं दोस्रो अधिवेशनमा पनि नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै उठेर गएको भन्दै प्रधानमन्त्रीका केही बाध्यता हुन सक्ने भएपनि संसद्प्रति जवाफदेही नभएको बताएकी हुन्।
ओलीले सदनमा सुकुम्बासी र संवैधानिक परिषद्सम्बन्धी प्रश्न उठाउँदा प्रधानमन्त्रीले भने सामाजिक सञ्जालमार्फत देश र जनतालाई जवाफ दिने गरेको बताइन्।
उनले संसदीय अभ्यासप्रति उत्तरदायी बन्न प्रधानमन्त्रीलाई आग्रह गर्दै प्रधानमन्त्रीको आवाजले देशलाई दिशा दिने भएकाले संसद्मा सहभागिता सुनिश्चित गर्न सभामुखसमक्ष अनुरोध गरेकी छिन्।
प्रकाशित: ३१ वैशाख २०८३ १२:२५ बिहीबार





