१२ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

विपक्षीलाई खगेन्द्रको कटाक्ष : गिरीबन्धु टी खाएपछि ‘कन्फिडेन्स’ आउँछ कि वाइडबडी खाँदा ?

संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीमा आत्मविश्वास नदेखिएको भन्दै प्रतिपक्षका सांसदहरूले टिप्पणी गरेपछि रास्वपा सांसद खगेन्द्र सुनारले व्यंग्यात्मक प्रश्न गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा उठाएको मुद्दाले विश्वको ध्यान आकर्षित गरेको दाबी गरे। अहिले उक्त विषय सबैभन्दा बढी हेरिने, पढिने र लेखिने समाचार बनेको उनको भनाइ छ।

‘घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिएँ। तर कन्फिडेन्स के खाएपछि आउँछ, हामी सुन्न चाहन्छौँ,’ कटाक्ष गर्दै उनले भने।

उनले व्यंग्य गर्दै सोधे, ‘ग्रीन टी खाएपछि आउँछ कि गिरीबन्धु टी खाएपछि आउँछ त्यो कन्फिडेन्स? त्यो सुन खाएपछि आउँछ कुन्टल–कुन्टलमा कि लडाकुको शिविरको पसिना र रगत खाएपछि आउँछ?’

सुनारले ‘वाइडबडी’, बालुवाटार, पासपोर्ट तथा गरिब र सुकुमबासीका लालपुर्जाको प्रसंगसमेत जोड्दै कन्फिडेन्स कहाँबाट आउने हो भन्ने प्रश्न गरे।

‘वाइडबडी खाएपछि आउँछ कि बालुवाटार खाएपछि? पासपोर्ट खाएपछि आउँछ कि गरिबका, सुकुमबासीका लालपुर्जा खाएपछि आउँछ? के खाएपछि आउँछ त्यो कन्फिडेन्स? यो सदन सुन्न चाहन्छ,’ उनले भने।

उनले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघमा उठाएको विषयलाई लिएर भइरहेको चर्चालाई पनि सदनमा स्मरण गर्न आग्रह गरे।

प्रकाशित: १२ आश्विन २०८३ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App