नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध आपत्ति जनाएका छन्।
उनले मंगलबार विज्ञप्ती जारी गरेर बालेन्द्र शाह नेतृत्वको सरकारबाट लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी संघ-संगठन र स्ववियुको अस्तित्वमाथि प्रहार गरी खारेज गर्ने निर्णय हुनु सरकारको अधिनायकवादी कदमका रूपमा बुझ्न बाध्य भएको बताएका छन्।
उनले विद्यार्थी संगठनलाई नेपालको गौरवशाली राजनीतिक इतिहासका मेरुदण्ड भनेर टिप्पणी गरे। ‘निर्दलीय निरंकुस पञ्चायती व्यवस्थाको अन्धकारमय कालखण्डमा जब राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो त्यति बेला राजनैतिक विचारका आधारमा संगठित विद्यार्थी संघ संगठनहरूले नै लोकतन्त्रको मशाललाई प्रज्वलित राख्दै जनतामा चेतना भर्ने र अधिनायकवाद विरुद्ध विद्रोहको शंखघोष गर्ने साहसिक अभियानको नेतृत्व गरेको कुरा इतिहास साक्षी छ।’, विज्ञप्तीमा उल्लेख गरिएको छ।
सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई वैधाननिकता दिएपछि उनले निवर्तमान कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ती निकालेका हुन्।


प्रकाशित: ८ वैशाख २०८३ १८:५१ मंगलबार





-600x400.jpg)