२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

यलम्बरको इतिहासबिना काठमाडौं अधुरो, मौलिक सभ्यता जोगाउन महानगर लाग्छ: बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौं उपत्यकाको इतिहास र सभ्यता किराँतकालीन राजा यलम्बरसँग जोडिएको भन्दै यसको संरक्षणमा महानगरपालिकाले सधैँ साथ दिने बताएका छन्।

काठमाडौंमा आयोजित ‘हाङ यलम्बर स्मृति’ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर शाहले नेपालको इतिहासमा किराँत कालखण्ड र राजा यलम्बरको योगदान अतुलनीय रहेको बताए।

बालेनले भने, ‘काठमाडौं उपत्यकाको सभ्यताको सुरुवात र विकासक्रमलाई हेर्ने हो भने हाङ यलम्बर र किराँतकाललाई छुटाउनै मिल्दैन। यलम्बरको इतिहासबिना काठमाडौंको इतिहास अधुरो हुन्छ।’

मेयर शाहले देशको मौलिक धर्म, संस्कृति र परम्परा नै हाम्रो वास्तविक पहिचान भएको बताए। उनले भने, ‘हाम्रा पुर्खाहरूले रचेको इतिहास र जोगाएको संस्कृतिलाई हामीले नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ। विविधताभित्रको एकता नै नेपालको शक्ति हो।’

शाहले काठमाडौं महानगरपालिका भित्र रहेका विभिन्न जातजाति, भाषाभाषी र ऐतिहासिक धरोहरहरूको संरक्षणमा आफू प्रतिबद्ध रहेको दोहोर्‍याए।

‘किराँत सभ्यतासँग जोडिएका ऐतिहासिक पक्षहरूको खोज, अनुसन्धान र संरक्षण गर्न महानगरपालिका सधैं तयार छ,’ उनले भने, ‘तपाईंहरूले आफ्नो मौलिकता जोगाउन गर्नुभएको प्रयास सराहनीय छ, यसमा स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग रहनेछ।’

कार्यक्रममा मेयर शाहले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरेका थिए।

प्रकाशित: १ माघ २०८२ १८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App