२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

आइतबार नगर सभाको १७औं अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै उक्त बजेट पेश गरेकी हुन्।

कुल बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने अनुमान छ।

यो रकम गत आर्थिक वर्षको २४ अर्ब ९० करोड ६३ लाख २५ हजारको बजेटभन्दा करिब ८६ करोडले बढी हो।

बजेटको स्रोतका रूपमा आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँ जुटाइनेछ।

क्षेत्रगत विनियोजनमा पूर्वाधार विकासले कुल बजेटको सर्वाधिक ५१ प्रतिशत हिस्सा अर्थात् १२ अर्ब ८० करोड ८३ लाख रुपैयाँ पाएको छ।

त्यसैगरी, सामाजिक विकासमा २० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १४ प्रतिशत र आर्थिक विकासमा ३ प्रतिशत बजेट छुट्याइएको छ।

बजेटले फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षामा सुधार, शहरी स्वास्थ्य प्रवर्द्धन, ‘एक वडा एक उद्यम’ कार्यक्रम, ध्वनि प्रदूषण नियन्त्रण र सार्वजनिक यातायात व्यवस्थापन जस्ता विषयलाई प्राथमिकतामा राखेको छ।

साथै, महानगरभित्रका मठ, मन्दिर, बहाल, पोखरी, हिटी जस्ता ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि समेत पर्याप्त बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिइन्।

बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख डंगोलले कानुनी समयसीमाभन्दा ढिलाइ भएको स्वीकार गर्दै महानगरवासीसमक्ष क्षमायाचना गरिन्।

विगतमा भएका केही मनमुटाव र अविश्वासका कारण समस्या आए पनि ती समाधान भइसकेको र अब सबै एकजुट भएर अघि बढ्ने उनले बताइन्।

‘विगतका तिता-मिठा अनुभव, आरोप-प्रत्यारोप सबै मन्थन भयो। समस्या समाधान पनि भए र आज हामी फेरि एक ढिक्का भएका छौं,’ उनले भनिन्।

आगामी दिनमा सहमति, समन्वय र सहअस्तित्वको भावनासहित जनताको अपेक्षा पूरा गर्न कटिबद्ध रहेको बताउँदै उनले महानगरको विकासका लागि संघीय र प्रदेश सरकारसँग समेत सहकार्यको अपेक्षा राखेको उल्लेख गरिन्।

प्रकाशित: २९ असार २०८२ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App