नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले कर्णालीलाई बिचरा र दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने राज्यको विभेदकारी दृष्टिकोण अन्त्य गर्न माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कर्णालीको उपेक्षा, बजेटको विभेद र राष्ट्रिय स्वाभिमानका विषयमा सरकारको चर्को आलोचना गरिन्।
कर्णालीको समस्या संसद्मा उठाउँदा ‘हिजो तिम्रा बा ले के गरे ?’ भनेर गैरजिम्मेवार प्रश्न सोधिने गरेको भन्दै उनले आक्रोश पोखिन्।
‘आज सुशासन ल्याउने दाबी गर्नेहरूले कर्णालीका लागि के गरे भनेर म प्रश्न गर्छु,’ उनले भनिन्, ‘कर्णालीका जनता क्षमता र विवेकमा कमजोर छैनन्,संघर्ष गरेर यहाँसम्म पुगेका हुन्। सरकार, कर्णालीलाई कहिले दोस्रो दर्जाको नागरिकबाट हटाउँछौं ?’
उनले प्रधानमन्त्रीको आश्वासनलाई सुतेर देखेको सपना भनिन्। ‘प्रधानमन्त्रीज्यूले कर्णालीको ढुंगामा उभिएर मेरो सुइना कर्णालीको सुइना भन्दै फोटो खिच्नुभयो,’ सांसद बरालले भनिन्, ‘कर्णाली राजमार्गलाई दुई लेन बनाउन ८४ अर्ब रुपैयाँ लाग्ने अवस्था छ, तर सरकारले कर्णालीका जनताको आँखामा छारो हाल्न बजेटमा जम्मा १ अर्ब रुपैयाँ मात्र छुट्यायो।’
कालीकोट विमानस्थल बनेको ३५ वर्ष बितिसक्दा पनि नियमित जहाज अवतरण हुन नसकेको र सडक ठाउँ-ठाउँमा भत्किएको उनले बताइन्।
कर्णाली ढुंगाभित्र लुकेको हीरा भएको बताउँदै उनले भनिन्, ‘काठमाडौंमा महँगी हुँदा ग्यास पाएनौं भनेर रोइलो गरिन्छ, तर हाम्रा जनता आज पनि दाउरामै खाना पकाउन सक्षम छन्। कर्णालीमा पेट्रोल खानी, पर्यटन र जडीबुटी छ, तर राज्यले नै सम्भावनाको ढोका बन्द गरेको छ।’
फुकोट कर्णाली जलविद्युत आयोजना भारतको एनएचपीसीलाई दिइएको विषयमा आफूहरूले सर्वोच्च अदालतमा रिट हालेपछि नेपालको हितमा २१.९ प्रतिशत सेयर पाउने फैसला आएको उनले स्मरण गराइन्।
भारतले अझै सिन्डिकेट लगाउन खोजेको आरोप लगाउँदै उनले भनिन्, ‘सहयोग गर्नुहोस् तर हामीलाई दया नदेखाउनुहोस्। जमिन, माटो र पानी हाम्रो हो, तपाईंको पैसा मात्र हो। हाम्रो स्वाभिमान बराबर छ।‘
प्रकाशित: १५ आश्विन २०८३ १६:५१ बिहीबार





