२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जसपा नेपालले भन्यो: हाम्रो झण्डामा अंकित ‘पाँच कुने तारा’ चुनाव चिन्हको रुपमा प्रयोग नगर्नू

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पार्टीको झण्डामा अंकित ‘पाँच कुने तारा’ लाई अन्य कुनै राजनीतिक दलले आफ्नो चुनाव चिन्हको रुपमा दाबी गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालले यस्तो कार्य राजनीतिक दल सम्बन्धी ऐनविपरीत भएको भन्दै निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको हो।

जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को विभिन्न दफा उल्लेख गर्दै आफ्नो झण्डामा प्रयोग भएको चिन्ह अरुलाई नदिन माग गरिएको छ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा १४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारालाई अन्य कुनै राजनीतिक दलले आफ्नो चुनाव चिन्ह दाबी गर्ने सम्बन्धी सार्वजनिक सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीले आफ्नो झण्डामा प्रयोग भइरहेको उक्त चिन्ह अन्य कुनै दललाई निर्वाचन चिन्ह वा अन्य कुनै पनि चिन्हको रुपमा प्रयोग गर्न नदिन आग्रह गरेको छ।

‘जनता समाजवादी पार्टी, नेपालको झण्डामा प्रयोग गरी आएको उक्त पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न हुन आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

मंगलबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौ वाम दलको एकतापछि नयाँ बन्ने दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने र चुनाव चिन्ह ‘तारा’ रहने निर्णय भएको थियो।

सोही निर्णयमा जसपा नेपालले आपत्ति जनाएको हो।

प्रकाशित: १८ कार्तिक २०८२ १८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App