प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको अप्रत्याशित पराजयपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव संगठन सुदृढीकरण अभियानमा सक्रिय भएका छन्। चुनावी हारपछि शिथिल बनेको पार्टी संगठनलाई पुनर्जीवित गर्न र कार्यकर्तालाई एकताबद्ध बनाउन उनी स्वयं जिल्ला–जिल्लामा पुग्न थालेका हुन्।
पार्टीको केन्द्रीय समन्वय समितिले सञ्चालन गरेको देशव्यापी अभियानअन्तर्गत यादवले पहिलो चरणमा बर्दिया, बाँके र सुर्खेतमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन्। जेठ २५ गते गुलरिया, २६ गते नेपालगञ्ज र २७ गते सुर्खेतमा आयोजित कार्यक्रममा उनले कार्यकर्तालाई चुनावी हारबाट निराश नहुन र नयाँ उत्साहका साथ संगठन निर्माणमा जुट्न आग्रह गरेका थिए।
अब अभियान मधेस र कोशी प्रदेशमा केन्द्रित हुने भएको छ। पार्टी नेतृत्व जेठ ३० गते पर्सा र ३१ गते बारामा आयोजना हुने भेलामा सहभागी हुनेछ भने असार १४ गतेसम्म मोरङ, सुनसरी, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, सिराहा र रौतहटमा जिल्लास्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
अध्यक्ष यादवको सचिवालयका अनुसार अभियानमा पार्टीका विभिन्न तहका सदस्य, भ्रातृ संगठनका प्रतिनिधि तथा निर्वाचित जनप्रतिनिधिको सहभागिता रहनेछ। साथै पार्टीका संरक्षक महन्थ ठाकुरलगायत शीर्ष नेताहरू पनि कार्यक्रममा सहभागी हुनेछन्।
अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले अभियानको उद्देश्य चुनावी पराजयको समीक्षा, आन्तरिक गुटबन्दीको अन्त्य, संगठन सुदृढीकरण तथा पार्टीको गुमेको साख पुनःस्थापित गर्नु रहेको बताए। उनका अनुसार शीर्ष नेतृत्व स्वयं कार्यकर्तामाझ पुगेर गुनासा सुन्ने र संगठनलाई पुनर्गठन गर्ने प्रयासमा जुटेको छ।
पहिचान, सामाजिक न्याय, संघीयता र समावेशिताका मुद्दाबाट स्थापित जसपा नेपाल पछिल्ला वर्षहरूमा आन्तरिक विभाजन र नेतृत्वको सत्ता–केन्द्रित राजनीतिका कारण कमजोर बनेको विश्लेषण गरिन्छ। गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न नसकेपछि संगठन पुनर्निर्माणलाई प्राथमिकता दिएको हो।
प्रकाशित: २८ जेष्ठ २०८३ १७:११ बिहीबार





