१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

जेनजीका न्यायोचित माग पूरा गर्न जसपा नेपालको माग

जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाउँदै आएका २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरू सार्वजनिक गरेको छ। जसपा नेपालले संविधान संशोधन, संघीय प्रणालीको सिद्धान्तका आधारमा प्रदेशहरूलाई अधिकार सम्पन्न गर्नुपर्नेदेखि जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरू सरकारले पूरा गर्नुपर्ने माग उठाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्।

जसपा नेपालले भनेको छ, 'संविधन संशोधन अथवा पुनरर्लेखन गरी राष्ट्रिय समास्याहरूको समाधान गरी मुलुकलाई निकास दिनुका साथै राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना उच्च स्तरीय आयोगको सुझाव प्रतिवेदन २०६८ को आधारमा हुने गरी राज्यको पुनः पुनर्संरचना गरिनुपर्दछ।'

जसपा नेपालले जेनजीले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गर्न तथा जेनजी विद्रोहलाई दबाउन सरकारले गरेको दमनका कारण, भए गरेका हिंसा, हत्या, आगजनी विध्वंश जस्ता क्रियाकलापहरूको छानबिन गरी कसूर ठहरेकालाई कानुन बमोजिम कारबाही गर्न भनेको छ। भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शीताको प्रत्याभूति गराइनुपर्ने, सरकारमा रहेर विगतमा भए गरेका सम्पूर्ण भ्रष्टाचारहरू, भ्रष्टाचारसँग सम्बन्धित विभिन्न काण्डहरूउपर छानबिन गरी भ्रष्टाचारीहरूलाई कानुनबमोजिम कारबाही गरिनुपर्नेमा जसपा नेपालको जोड रहेको छ।

पार्टीले उठाउँदै आएका २८ बुँदे विभिन्न माग र राष्ट्रिय मुद्दाहरू केन्द्रीय कार्यकारिणी समितिको बैठकले पारित गरी ती माग र मुद्दा पूरा गर्न मंसिर १० गतेदेखि नै विभिन्न सङ्घर्षका कार्यक्रमसमेत घोषणा गरिएको बस्नेतले बताए।

प्रकाशित: ८ मंसिर २०८२ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App