जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी नीति, सिद्धान्त, विधान तथा निर्णयविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित २१ जना जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन २०८२ का क्रममा पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत कार्य गरेको र लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्दै सरकारमा समेत सहभागी भएको भन्दै रुपन्देही–३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फकी हेमा वेल्वासे (केसी), बाँके–२ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके–२ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाललाई कारबाही गरिएको हो ।
त्यस्तै, पार्टीको निर्णयविपरीत गतिविधि गरेको भन्दै सिरहा, पर्सा, खोटाङ, भोजपुर, उदयपुर, इलाम र सुनसरीका स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यसहित अन्यलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय बैठकले गरेको छ ।
बाढीपीडितका लागि २१ लाख
बैठकले भदौ १० गते रसुवागढीको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका देश तथा विदेशका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
जसपाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत, उद्धार तथा बाढीपीडितको व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारसँग माग गरेको छ । राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले ‘नेपालको वर्तमान राजनीतिक अवस्था र जसपा, नेपालको रणनीतिक दिशा’ शीर्षकको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
यस्तै, जसपाको केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौंमा आयोजना गर्ने निर्णय भएको छ ।
अग्रगामी मोर्चालाई समर्थन
जसपाले अग्रगामी मोर्चाको गठनलाई सर्वसम्मतिले स्वागत तथा समर्थन गरेको छ । मोर्चाले घोषणा गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टीका सम्पूर्ण पङ्क्तिले सक्रिय सहभागिता जनाउने निर्णय पनि बैठकले गरेको छ ।
संगठन सुदृढीकरण तथा कार्यकर्ता अभिमुखीकरणका लागि पश्चिम नवलपरासीमा भदौ २१, रुपन्देहीमा भदौ २२ तथा कपिलवस्तु र दाङमा भदौ २३ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गर्ने निर्णयसमेत गरिएको महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १९ भाद्र २०८३ १९:१२ शुक्रबार


-600x400.jpg)
-600x400.jpg)

