जितीया पर्वले नेपाली समाजमा पारिवारिक एकता, सामाजिक सद्भाव र महिलाप्रतिको श्रद्धालाई थप बलियो बनाएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।
जितीया पर्वको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ता मौलिक संस्कृतिले आपसी सहिष्णुता जगाउँदै नेपालको विविधताको संरक्षण गरिरहेको उल्लेख गरेका छन्। उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरेका छन्।
विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेसी तथा अन्य समुदायका महिलाले यो पर्व निष्ठापूर्वक मनाउने गर्छन्।
आफ्ना सन्तान र परिवारजनको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै जिमुतवाहनको श्रद्धापूर्वक पूजा-आराधना गरी जितीया मनाइने राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा स्मरण गरेका छन्।
आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बस्ने र शरीर, मन तथा आत्मा शुद्धि गर्दै शुद्ध परिकारहरू खाने-खुवाउने परम्परा यस पर्वमा छ।
बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो मुलुकमा यस्ता मौलिक पर्वले बेग्लै राष्ट्रिय पहिचान स्थापित गरेको राष्ट्रपतिको भनाइ छ।
नेपाली मौलिक सम्पदाको संवर्द्धन गर्दै संस्कारयुक्त आदर्श समाज निर्माण गर्न र सदाचारयुक्त जीवनशैली अपनाउन यस्ता पर्वको गरिमालाई निरन्तरता दिनु अत्यावश्यक रहेको राष्ट्रपति पौडेलले जोड दिएका छन्।
प्रकाशित: १७ आश्विन २०८३ १५:३३ शनिबार




-600x400.jpg)
