१७ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

भारतले धौलीगंगाको बाँध पुनः खोल्दै, नदी छेउछाउमा नजान आग्रह

भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका पुनः खोल्न लागिएको छ।

परियोजनाले बाँधमा जमेको सिल्ट सफाइ गर्न ४८ घण्टाका लागि ढोका खोल्न लागेको हो।

एनएचपिसी लिमिटेड, धौलीगंगा पावर स्टेसन भारतबाट प्राप्त पत्रअनुसार असोज १७ गते राति १ः०० बजेदेखि असोज १९ गते राति १ः०० बजेसम्म बाँधका ढोका खुला रहने बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिए।

बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीको बहाव तथा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ।

सो अवधिमा नदीको बहाव तथा जलस्तर बढ्न सक्ने भएकाले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन तथा नदी किनारमा नजान आग्रह गरिएको प्रजिअ अर्यालले बताए।

दार्चुलाबाट बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान प्रशासनले अनुरोध गरेको हो।

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने गरेको प्रजिअ अर्यालले जानकारी दिए।

सोहीअनुसार नेपालतर्फ आवश्यक सतकर्ता अपनाउने गरिएको हो।

यसअघि गत साउन १३ गते पनि धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएको थियो। 

प्रकाशित: १६ आश्विन २०८३ १६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App