२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

झाँक्रीले सुनाइन् ओलीसँगको पहिलो भेटबारे रोचक प्रसंग, ‘बाबुले छोरीलाई भेटेको जस्तो थियो’

नेकपा (एमाले) मा फर्किएपछिको पहिलो अन्तर्वार्तामा नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको पहिलो भेटको रोचक प्रसंग सुनाइन्।

अध्यक्ष ओलीले आफूलाई बाल दिवस को शुभकामना दिँदै रमाइलो पारामा स्वागत गरेको र त्यसपछि आलोचनात्मक टिप्पणीसहित पार्टीमा काम गर्न निर्देशन दिएको उल्लेख गरिन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले एमालेमा आफ्नो भूमिका, अध्यक्ष ओलीसँगको सम्बन्ध र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीचको विशेष सम्बन्धबारे खुलेर कुरा गरिन्।

ओलीसँगको भेटबारे बताउँदै झाँक्रीले भनिन्, ‘पहिलो भेट बाल दिवसको दिन भयो। उहाँले ह्याप्पी चिल्ड्रेन्स डे भन्नुभयो।’

त्यसपछि अध्यक्ष ओलीले आफूलाई कमरेड भनेर सम्बोधन गर्दै केही आलोचनात्मक कुरा राखेको उनले स्मरण गरिन्। ‘त्यो एक प्रकारले बाबुले छोरीलाई भेटेको जस्तो थियो,’ उनले भनिन्, ‘अन्त्यमा उहाँले ल ठीक छ, अब फर्केर काम गर भन्नुभयो।’

एमालेमा आफ्नो भावी भूमिकाबारे सोधिएको प्रश्नमा उनले आफू कुनै पनि शर्तबिना पार्टीमा फर्किएको स्पष्ट पारिन्।

‘म शर्तहीन रूपमा पार्टीमा फर्किएकी हुँ, मेरो कुनै शर्त छैन,’ उनले भनिन्, ‘आफ्नो योग्यताअनुसार जे काम दिइन्छ, त्यो गर्छु।’ उनले आफूसँगै एमाले फर्किएका नेता-कार्यकर्ताहरू आ-आफ्नो क्षेत्रमा काममा लागिसकेको समेत जानकारी दिइन्।

एकीकृत समाजवादीका अध्यक्ष (हाल नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक) माधवकुमार नेपाल र नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालबीच विशेष र अन्योन्याश्रित सम्बन्ध रहेको उनले टिप्पणी गरिन्।

‘माधव कमरेडको हरेक सुख-दुःखमा उहाँ (प्रचण्ड) ले साथ दिनुपर्ने एउटा अब्ब्लिगेसन छ, आज पनि,’ झाँक्रीले भनिन्।

राष्ट्रपति निर्वाचनको बेला आफूले माधव नेपाल र केपी ओलीबीच भेट गराउन पहल गरेको तर नेपालले भेट्न अनिच्छा देखाएको उनले खुलासा गरिन्।

‘त्यतिबेला मैले दुईपटक पहल गरेँ, तर उहाँ (नेपाल) ले भेट्ने इच्छा गर्नुभएन,’ उनले भनिने, ‘प्रचण्ड कमरेड र माधव कमरेडको बीचमा केही चिज थियो, जसले गर्दा त्यो (ओलीसँगको भेट) भएन।’

प्रकाशित: २६ कार्तिक २०८२ २०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App