नेकपाका नेता झलनाथ खनालले जननेता मदन भण्डारी र जीवराज आश्रित को मृत्यु षड्यन्त्रमूलक रूपमा भएको दाबी गरेका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै खनालले यो घटना अत्यन्त रहस्यमय, कायरतापूर्ण र योजनाबद्ध ढङ्गले भएको बताएका हुन्।
उनले घटनाको वास्तविकता आजसम्म स्पष्ट हुन नसक्नु आफूहरूकै कमजोरी रहेको उल्लेख गर्दै हत्या कसले गर्यो भन्ने विषय अझै निष्कर्षमा पुग्न नसकेको बताए। तर, भण्डारीमाथि रचिएको षड्यन्त्र केवल एक व्यक्तिमाथिको आक्रमण नभई नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने उद्देश्यसहित देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूद्वारा अघि बढाइएको प्रयास भएको उनको दाबी थियो।
खनालले त्यस्तो षड्यन्त्र अहिले पनि विभिन्न रूपमै जारी रहेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनसँग आबद्ध सबै पक्ष सचेत, सतर्क र संगठित भएर अगाडि बढ्न आवश्यक रहेको बताए।
प्रकाशित: १४ असार २०८३ १५:२९ आइतबार





