२६ भाद्र २०८२ बिहीबार
image/svg+xml १३:५४ अपराह्न
राजनीति

माधवलाई झलनाथको जवाफ: पार्टी चलाउने क्षमता छैन भने आफैँ बाटो लाग्नुस्

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काउँदै पार्टी सञ्चालन गर्ने क्षमता नभएकाहरू आफैँ छाडेर गए हुने बताएका छन्।

अध्यक्ष नेपालले आफूलाई ‘पार्टी छाडेर जानुपर्छ’ भनी दिएको अभिव्यक्तिको प्रतिवाद गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता खनालले आफू पार्टी छाडेर नभाग्ने, बरु नेतृत्व गर्न नसक्नेहरूले नै मार्गप्रशस्त गर्नुपर्ने संकेत गरेका हुन्।

‘पार्टी सञ्चालन गर्न सक्ने क्षमता छैन, पार्टीमा बसेर काम गर्न सक्ने क्षमता छैन भने त्यस्ता मान्छेहरु आफैँ बाटो लागे हुन्छ,’ अध्यक्ष नेपालप्रति लक्षित गर्दै खनालले भने, ‘झलनाथ खनालले त्यस्तो (पार्टी छाडेर भाग्ने) काम गर्दैन।’

उनले आफू पार्टी छाड्ने कुराको कल्पनासमेत गर्न नसक्ने बताए। ‘कसैले यो पार्टी चाहिएको छैन भने आफैँ हिँड्नुस् न,’ उनले थपे, ‘म त यो पार्टी छाड्ने, राजीनामा दिएर हिँड्ने कल्पना पनि गर्दिनँ।’

नेता खनालले पार्टी नेतृत्वले चार वर्षसम्म विद्रोहको औचित्य पुष्टि गर्न नसकेको, कार्यकर्तालाई निराश बनाएको र कांग्रेससँगको गठबन्धनमा पटक-पटक धोका खाएर पार्टीलाई कमजोर बनाएको आरोप लगाए। उनले नेतृत्वको अदूरदर्शिताका कारण पार्टीको पहिचान नै संकटमा परेको सुनाए।

‘विद्रोह गरेर जन्मेको पार्टी हो यो। यसलाई वैचारिक र राजनीतिक रूपले रूपान्तरण गर्नुपर्नेछ। यसबाट भाग्ने, राजीनामा दिएर हिँड्ने कुरा मबाट हुँदैन,’ उनले आफ्नो अडान स्पष्ट पारे।

यसअघि शुक्रबार अध्यक्ष नेपालले नेता खनालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएकाले पार्टीमा बस्ने नैतिक अधिकार गुमाएको भन्दै राजीनामा दिएर जानुपर्ने बताएका थिए।

सोही अभिव्यक्तिको जवाफमा खनालले नेतृत्वको क्षमतामाथि नै प्रश्न उठाउँदै प्रतिवाद गरेका हुन्। यस सार्वजनिक जुहारीले एकीकृत समाजवादीभित्रको विवाद उत्कर्षमा पुगेको प्रष्ट भएको छ।

प्रकाशित: १७ श्रावण २०८२ १७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App