जनमत पार्टीको दोस्रो महाधिवेशन सुरु भएको छ। महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यकारिणी समितिका विभिन्न पदमा कुल १०३ जनाले उम्मेदवारी दिएका छन्।
अध्यक्ष पदमा डा सीके राउतको मात्रै उम्मेदवारी परेको छ। अध्यक्षमा एकल उम्मेदवारी परे पनि पार्टीको विधानअनुसार मतदान हुनेछ। अध्यक्षमा निर्वाचित हुन राउतले खसेको सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। अन्य पदमा भने प्रतिस्पर्धात्मक निर्वाचन हुँदैछ। महाधिवेशनमा दुई हजारभन्दा बढी मतदाता सहभागी हुने जनाइएको छ।
सात जना उपाध्यक्षका लागि १४ जना, एक जना महासचिवका लागि तीन जना, एक जना उपमहासचिवका लागि दुई जना र सात जना सचिवका लागि १० जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, केन्द्रीय कार्यकारिणी समिति सदस्यका लागि ७३ जनाको उम्मेदवारी परेको छ।
उपाध्यक्षमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा कमरुल्लाह अन्सारी, सञ्जयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी र मनोहरीदेवी बैठाले उम्मेदवारी दिएका छन्।
महासचिवमा चन्दन सिंह, ममता झा र सञ्जयकुमार यादव तथा उपमहासचिवमा निर्मलकुमार मण्डल र ललितचन्द्र मल्लिक उम्मेदवार छन्।
सचिव पदमा सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेसी, हरेन्द्र चौधरी, अञ्जनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, वीरेन्द्र महतो ९जीवन त्यागी० र रामबाबु साहले उम्मेदवारी दिएका छन्।
निर्वाचनसम्बन्धी निर्देशिकाअनुसार महाधिवेशनबाट १०० जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्। बाँकी ५१ सिटमा समावेशी ढङ्गबाट मनोनयन गरिने पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा ४० वर्षमुनिका युवा तथा महिलाको सहभागिता एकतिहाइ पुर्याइने व्यवस्था गरिएको छ।
महाधिवेशनबाट बढीमा १७ जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा अध्यक्ष एक, उपाध्यक्ष बढीमा सात, महासचिव एक, उपमहासचिव एक र सचिव बढीमा सात जना रहनेछन्। कोषाध्यक्ष र प्रवक्ता भने अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ।
निर्देशिकाअनुसार केन्द्रीय कार्यकारिणी समितिको कुनै पनि सदस्यमा निर्वाचित हुन खसेको कुल मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्नेछ।
प्रकाशित: १७ आश्विन २०८३ ११:२५ शनिबार





