प्रतिनिधिसभाको बैठकमा सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको ‘तमासा’ शब्द संसदीय मर्यादाविपरीत नभएको स्पष्टीकरण दिएका छन्।
विपक्षी दलका सांसदहरूले उक्त शब्दलाई अश्लील र अशिष्ट भन्दै आपत्ति जनाएपछि उनले नेपाली शब्दकोशको हवाला दिँदै आफ्नो भनाइको बचाउ गरेका हुन्।
सांसद खरेलले विपक्षीले लगाएको आरोपको खण्डन गरे। उनले नेपाली भाषाको आधिकारिक शब्दकोशअनुसार ‘तमासा’ को अर्थ हल्लाखल्ला वा अनावश्यक कोलाहल मात्र हुने दाबी गर्दै यसलाई गलत अर्थमा नबुझ्न आग्रह गरे।
‘मेरो पूर्ववक्ता मान्यज्यूले जुन तमासा भन्ने शब्दलाई अश्लील र अशिष्ट भन्नुभयो, नेपाली शब्दकोश हेर्ने हो भने तमासाको अर्थ हल्लाखल्ला वा अनावश्यक कोलाहल हुन्छ,’ खरेलले प्रस्टीकरण दिँदै भने।
उनले आफूले प्रयोग गरेको शब्दले कुनै पनि कोणबाट संसद्को गरिमा र मर्यादामा आँच नपुर्याएको जिकिर गरे। संसद्मा कानुन निर्माणजस्तो गम्भीर विषयमा छलफल भइरहँदा विपक्षी दलबाट भएको निरन्तरको अवरोध र होहल्लालाई इङ्गित गर्दै आफूले उक्त शब्द प्रयोग गरेको उनको भनाइ छ।
सदनमा आफ्नो धारणा राख्दै खरेलले भने, ‘यो शब्द कहीँकतैबाट पनि संसदीय मर्यादाविपरीत रहँदैन। किनभने कानुन बनाउने विधेयकबारे छलफल भइराख्दा, म सहभागी भइरहेको र बोलिरहेको अवस्थामा जुन खालको हल्लाखल्ला र अनावश्यक कोलाहल भयो, त्यसलाई लिएर मैले यो शब्द प्रयोग गरेको हुँ।’
आफ्नो अभिव्यक्तिलाई लिएर संसद्मा थप विवाद नहोस् भन्नका लागि उनले भाषाविद्हरूको ध्यानाकर्षणसमेत गराएका छन्। उनले सम्बन्धित भाषाविद् र नेपाली शब्दकोशलाई ध्यानमा राखेर हेर्न आग्रह गर्दै आफूले बोलेको कुरा अशिष्ट नठहरिने दाबी प्रस्तुत गरे।
‘सम्बन्धित भाषाविद् र नेपाली शब्दकोशलाई ध्यान राखियोस्, यो तमासा भन्ने शब्द अशिष्ट होइन भन्ने म नम्र निवेदन गर्न चाहन्छु,’ खरेलले भने।
प्रकाशित: १२ जेष्ठ २०८३ १७:१५ मंगलबार





