जेनजी अभियान्ता भावना राउतले सुनसरी घटनापछि सरकार, राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारमाध्यम र युवाहरूलाई शान्ति, संयमता र संवादको पक्षमा उभिन आग्रह गरेकी छिन्।
सामाजिक सञ्जालमार्फत राउतले मधेशबाट निर्वाचित सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा फर्किएर नागरिकको डर, चिन्ता र समस्या सुन्न तथा संवादमार्फत स्थिति सामान्य बनाउन पहल गर्न आग्रह गरेकी छन्। उनले जेनजी युवाहरूलाई पनि सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न आह्वान गर्दै अफवाहभन्दा तथ्य र घृणाभन्दा संवाद फैलाउनुपर्ने बताएकी छिन्।
उनले लेखेकी छन्, ‘जेन जी साथीहरू, अब फेरि एकपटक हाम्रो एल्गोरिदम सही ठाउँमा प्रयोग गर्ने बेला आएको छ। जहाँबाट जे सकिन्छ, शान्तिको अपिल गरौँ। अफवाह होइन, तथ्य फैलाऔँ। घृणा होइन, संवाद फैलाऔँ। अहिले एउटा पोस्टले आगो पनि सल्काउन सक्छ, एउटा पोस्टले आगो निभाउन पनि सक्छ।’
राउतले सुरक्षा संयन्त्रलाई पनि अधिकतम संयमता अपनाउन आग्रह गर्दै गैरघातक उपकरणको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएकी छिन् । साथै राज्यको पहिलो जिम्मेवारी नागरिकलाई सुरक्षित राख्नु रहेको भन्दै भय सिर्जना गर्न नहुने बताइन्।
उनले गृहमन्त्रीलाई तत्काल मधेश पुगेर स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्न आग्रह गर्दै संकटका बेला जनतामाझ देखिने नेतृत्व नै इतिहासले सम्झिने बताउँदै प्रधानमन्त्री बालेन शाहलाई पनि देशवासीलाई सम्बोधन गर्दै शान्ति र सामाजिक सद्भावको आह्वान गर्न अनुरोध गरेकी छिन्।
उनले सरकार, राजनीतिक दल, सांसद, स्थानीय जनप्रतिनिधि, नागरिक समाज र सामाजिक अगुवाहरूलाई आ–आफ्नो स्थानबाट शान्ति, संयम र संवादको सन्देश प्रवाह गर्न आग्रह गर्दै तराई–मधेशलाई राजनीतिक स्वार्थको थलो बनाउन नबनाउन आग्रह गरेकी छिन्।
प्रकाशित: १४ श्रावण २०८३ १७:२३ बिहीबार





