रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले रोल्पामा बाढीपहिरोका कारण उत्पन्न भयावह स्थितिबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले थबाङ, सुनछहरी र लुङग्री क्षेत्रमा प्राकृतिक विपद्का कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको जनाउँदै रोल्पाली नागरिक त्रासमा बाँच्नुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्।
मानवीय क्षतिलाई केवल तथ्यांकमा सीमित गर्न नहुने बताउँदै उनले परिवर्तनको इतिहास बोकेको र १० वर्षे सशस्त्र द्वन्द्वको मुख्य केन्द्र रहेको रोल्पा अझै पनि राजनीतिक विद्रोह, प्राकृतिक विपद र दुर्घटनाहरूको निरन्तर चपेटामा परेको बताइन्।
‘तथ्याङ्कमा मृत्यु हुनेको संख्या गन्न सकिएला, तर परिवारले गुमाएको अभिभावक वा सन्तानको रिक्तता कुनै राहत वा क्षतिपूर्तिले भर्न सक्दैन’, उनले भनिन्,‘आज पनि सामान्य हावा चल्दा सदरमुकाममै विद्युत अवरुद्ध हुन्छ। गाउँहरूमा सडक, सञ्चार, स्वास्थ्य र शिक्षाको अवस्था झन् दयनीय छ।’
राज्यको उपस्थिति तथ्याङ्क संकलनमा मात्र नभई नागरिकको दुःखमा सहानुभूति र संवेदनशीलतामा पनि देखिनुपर्ने उनको भनाइ छ।
सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउन आग्रह गर्दै उनले नागरिकलाई सुरक्षित राख्ने दीर्घकालीन योजना ल्याउन माग गरिन्।
प्रकाशित: २ भाद्र २०८३ १४:४५ मंगलबार





