नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन्।
नेपाली सेनाका अनुसार भ्रमणका क्रममा जनरल सेठले कलेजमा सञ्चालन भइरहेका विभिन्न गतिविधिबारे जानकारी लिनुका साथै कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए।
मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिममा हाल १० विदेशी र ८२ नेपाली गरी ९२ जना शिक्षार्थी अधिकृत सहभागी छन्।
वि.सं. २०४९ साल पुस १४ गते स्थापना भएको सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट हालसम्म १ हजार ५०७ जना शिक्षार्थी अधिकृत प्रशिक्षित भइसकेका छन्।
नेपाली सेनाका अनुसार कलेजबाट हालसम्म नेपाली सेनाका १ हजार ३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल, नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ तथा विभिन्न मित्रराष्ट्रका १३२ जना अधिकृतले तालिम पूरा गरेका छन्।
जनरल सेठको नेपाल भ्रमणका क्रममा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमणलाई नेपाल–भारत सैन्य सम्बन्ध तथा व्यावसायिक सैनिक तालिममा सहकार्यको निरन्तरताका रूपमा हेरिएको छ।
प्रकाशित: २ भाद्र २०८३ १५:५० मंगलबार





