२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

‘सभामुख अर्यालको मात्र होइन, सातै प्रदेशका पदाधिकारीसँगै हिँड्दा लावालस्कर देखियो’

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रतिनिधि सभाका सभामुखको सवारीलाई लिएर सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन्।

कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख भण्डारीले सवारीका क्रममा देखिएको गाडीहरूको संख्या कुनै एक व्यक्तिको नभई राज्यका दुई दर्जनभन्दा बढी उच्चपदस्थ अधिकारीहरूको संयुक्त लस्कर भएको बताएका हुन्।

कञ्चनपुरमा आयोजित ११औं अन्तर-व्यवस्थापिका सम्मेलनमा सहभागी हुन आएका राज्यका अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरूको सवारीलाई लिएर केही दिनदेखि सामाजिक सञ्जालमा आलोचना भइरहेको थियो।

सभामुख डिपी अर्याल ‘लावालस्कर’ सहित हिँडेको भन्दै भिडियो सार्वजनिक भएपछि प्रदेश सभामुख भण्डारीले यथार्थ सार्वजनिक गरेका हुन्।

सभामुख भण्डारीका अनुसार उक्त सवारी लस्करमा प्रतिनिधि सभाका सभामुख डिपी अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्षका साथै मुलुकका पाँचवटा प्रदेशका सभामुख र उपसभामुखहरू सहभागी थिए।

‘यो कुनै एक व्यक्तिको रहरले निस्किएको लस्कर होइन, मुलुकका दुई–दुई जना सम्माननीयहरू र पाँच प्रदेशका सभामुख-उपसभामुखहरूको संयुक्त टोली हो,’ उनले भने।

सो टोलीमा संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरू समेत सम्मिलित थिए।

सम्मेलनमा सहभागी हुन आएका पदाधिकारीहरूका लागि प्रोटोकल अनुसारका २७ वटा सवारी साधनहरू प्रयोग भएको र सुरक्षाका कारण उनीहरूलाई एउटै लस्करमा हिँडाउनुपर्ने प्राविधिक बाध्यता रहेको भण्डारीले उल्लेख गरे।

सभामुख भण्डारीले तथ्यलाई बंग्याएर नयाँ राजनीतिक शक्ति र नेतृत्वमाथि प्रहार गर्ने उद्देश्यले घृणित प्रचार गरिएको दाबी गरे।

‘आँखै अगाडि राष्ट्रिय सभाका अध्यक्ष, मुख्यमन्त्री र दर्जनौँ पदाधिकारीका गाडी गुडिरहेको देख्दादेख्दै सबैलाई नजरअन्दाज गरेर केवल सभामुख अर्याललाई मात्र निशाना बनाउनु नितान्त पूर्वाग्रही कदम हो,’ उनले थपे।

यस्तो प्रचारले सुदूरपश्चिमको मानमर्यादा र अतिथिको सम्मानमा समेत आँच पुर्‍याउने उनको तर्क थियो।

सभामुख अर्याललाई रास्वपासँग जोडेर ‘नयाँको हालत पनि पुरानै जस्तो’ भन्दै भ्रम फैलाइएकोमा सचिवालयले गम्भीर चासो व्यक्त गरेको छ।

संवैधानिक व्यवस्था अनुसार सभामुख कुनै दल विशेषको नभई राज्यको साझा अभिभावक हुने स्मरण गराउँदै भण्डारीले राज्यको स्थापित सुरक्षा प्रणाली र मर्यादामाथि हिलो छ्याप्ने हर्कत बन्द गर्न आग्रह गरे।

सम्मेलनका क्रममा भएको सवारी व्यवस्थापनको आधिकारिक विवरण सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सार्वजनिक गरिसकेको छ। सचिवालयले सस्तो लोकप्रियताका लागि तथ्यहीन ट्रोल बनाउने र जनतालाई दिगभ्रमित पार्ने तत्वहरू विरुद्ध सजग रहन नागरिक स्तरमा अपिल समेत गरेको छ।

प्रकाशित: २४ जेष्ठ २०८३ १६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App