बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जुनसुकै सरकारले गरेको राम्रो कामलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर समर्थन गर्नुपर्ने बताएका छन्।
शनिबार हेटौँडामा आयोजित निर्माण व्यवसायी संघ मकवानपुरको २६औँ वार्षिक साधारण सभा तथा १२औँ अधिवेशनलाई सम्बोधन गर्दै बानियाँले संघीय सरकारले निर्माण व्यवसायीका लागि ल्याएको औसत बोलपत्र प्रणाली र निर्माण आयोजनाको पुनःतालिकीकरणको व्यवस्थालाई सकारात्मक रूपमा लिनुपर्ने बताए।
सरकार फरक भए पनि राम्रो नीति र निर्णयको समर्थन गर्न सक्ने राजनीतिक संस्कारको विकास हुनुपर्ने उनको भनाइ थियो। सरकारका सबै कामलाई राजनीतिक दृष्टिकोणबाट मात्र हेर्ने प्रवृत्तिले सकारात्मक कामको समेत उचित मूल्यांकन हुन नसक्ने उनले बताए।
लामो समयदेखि निर्माण क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि सरकारले ल्याएका नीतिगत व्यवस्थाले व्यवसायीलाई काम अघि बढाउन केही सहज वातावरण निर्माण गर्ने बानियाँले विश्वास व्यक्त गरे। यद्यपि, नयाँ व्यवस्था कार्यान्वयनसँगै केही निर्माण व्यवसायीले थप समस्या र कठिनाइसमेत भोगिरहेकोतर्फ सरकारको ध्यान जानुपर्ने उनले बताए। वर्तमान सरकारप्रति जनतामा आशा र भरोसा रहेको उल्लेख गर्दै बानियाँले देश राम्रोसँग सञ्चालन हुनु नै प्रमुख कुरा भएको बताए।
‘कुन राजनीतिक दलले सरकार चलायो भन्नेभन्दा पनि जनताले सुखी र खुसी भएर बाँच्न पाउने, इमानदारीपूर्वक काम गरेर जीवनयापन गर्न पाउने वातावरण निर्माण हुनुपर्छ,’ उनले भने।
प्रकाशित: २७ भाद्र २०८३ १७:२७ शनिबार





