१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रतिष्ठानहरू ‘ठगी खाने भाँडो’ बन्न हुँदैन: ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनका केही पदाधिकारीहरूको अभिव्यक्ति र गतिविधिप्रति प्रश्न उठाएका छन्।

पार्टीका सम्मानित नेताको नाममा स्थापित संस्थाहरूले आफ्नो आदर्श र उद्देश्य नबिर्सन चेतावनी दिँदै उनले त्यस्ता प्रतिष्ठानहरू ‘ठगी खाने भाँडो’ बन्न नहुनेमा जोड दिए।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘पार्टीका सम्मानित नेताको नाममा स्थापना गरिएका संस्थाहरू सही बाटोमा हिँड्नुपर्छ। साँच्चिकै काम गर्छ कि ठगी खाने भाँडो बन्छ भन्ने हेर्न जरुरी छ। नेताहरूको नाममा बनाइएको प्रतिष्ठानहरू ठगी खाने भाँडो बनाउने परिपाटी हुनुहुन्न।’

उनले त्यस्ता संस्थाहरू सामूहिक हुनुपर्ने र नेताको आदर्शलाई पछ्याउन सक्नुपर्नेमा जोड दिए।

मदन भण्डारी फाउन्डेसनको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले उक्त संस्था पार्टीले नभई केही व्यक्तिहरू मिलेर बनाएको स्मरण गराए। ‘मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन, हामीहरू मिलेर बनाएको हो,’ उनले भने।

अध्यक्ष ओलीले मदन–आश्रित स्मृति प्रतिष्ठानको स्थापनाको औचित्यबारे प्रस्ट्याउँदै भने, ‘एक समय मदन भण्डारी र जीवराज आश्रितको जन्मदिन मनाउनसमेत नपाइने अवस्था सिर्जना गरिएपछि मदन–आश्रित स्मृति प्रतिष्ठान बनाउनु परेको हो।’

फाउन्डेसनका पदाधिकारीका अभिव्यक्ति र त्यस मातहत सञ्चालित अनलाइनको प्रस्तुतिप्रति संकेत गर्दै अध्यक्ष ओलीले भविष्यमा फाउन्डेसन कसरी अगाडि बढ्छ भन्नेमा शंका व्यक्त गरे। ‘आगामी दिनमा मदन भण्डारी फाउन्डेसन कसरी जान्छ ? त्यो भने हेर्न बाँकी छ,’ उनले भने।

प्रकाशित: २६ श्रावण २०८२ १५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App