राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि आवश्यक सामग्री खरिदमा अनियमितता भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका छन्। सांसद सुनारले प्रहरीका जुत्ता, मोजा, लत्ताकपडादेखि लाठी तथा भाटा खरिदसम्ममा अनियमितताको प्रश्न उठेको भन्दै सार्वजनिक खरिद प्रक्रियाको गम्भीर छानबिन गर्नुपर्ने बताए।
जनताले आफूहरूलाई भ्रष्टाचार नियन्त्रण र सुशासनको नेतृत्व गर्न संसद्मा पठाएको उल्लेख गर्दै उनले सुरक्षा निकायका सामग्री खरिदमा हुने अनियमिततामा आफूहरू मौन बस्न नसक्ने बताए।
सांसद सुनारले ठेकेदार छनोट प्रक्रियामै अनियमितता भएको हुनसक्ने भन्दै प्रहरीसँग निकट सम्बन्ध भएका व्यक्तिहरू ठेक्का प्रक्रियामा संलग्न भए–नभएको अनुसन्धान गर्नुपर्ने बताए। प्रहरीमा लेखा तथा अन्य जिम्मेवारीमा काम गरिसकेका व्यक्ति अवकाशपछि पुनः ठेकेदार बनेर प्रहरीसँग कारोबार गरिरहेका भए त्यसको समेत अध्ययन गर्नुपर्ने उनको भनाइ छ।
‘जुत्ता खरिदमा भ्रष्टाचार हुन्छ, मोजा खरिदमा भ्रष्टाचार हुन्छ भने त्यसको जवाफ दिनुपर्छ । एउटा गरिबको छोरा सिपाही भएर आउँछ, उसको जुत्ता, मोजा र कपडामै बदमासी गर्न पाइँदैन,’ उनले भने।
प्रहरीका सामान खरिदमा विवाद उठेको यो पहिलोपटक नभएको उल्लेख गर्दै सुनारले विगतमा समेत खरिदसम्बन्धी विषयमा प्रहरीका उच्च अधिकारीमाथि कारबाही भएको उदाहरण रहेको बताए। यस्ता घटनाले नेपालको सुरक्षा संगठन अन्तर्राष्ट्रियस्तरमै बदनाम हुने अवस्था सिर्जना गरेको उनको दाबी थियो।
उनले प्रहरी प्रमुखको घरमा भएको चोरीको घटनालाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताए। सुरक्षा व्यवस्थाको जिम्मेवारी लिएको प्रहरी प्रमुखकै घरमा ठूलो रकम चोरी भएको भए त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको भनाइ थियो।
‘आइजीपीकै घरमा चोरी भयो भने जनताले के गर्ने? सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रमुखकै घरमा चोरी भएको हो भने त्यसको पनि निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भने।
सांसद सुनारले जनतालाई नियन्त्रणमा लिन प्रयोग हुने लाठी तथा भाटा खरिदमा समेत अनियमितता भएको आरोप लगाउँदै सुरक्षा निकायका सामग्री खरिदमा हुने कुनै पनि प्रकारको बदमासी गम्भीर विषय भएको बताए।
उनले तत्कालीन गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरे। तत्कालीन गृहमन्त्री होमप्रकाश अर्याल, तत्कालीन गृहसचिव तथा प्रहरी प्रमुख राजु अर्याललगायतको भूमिकाबारे अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।
आरोप लागेका व्यक्ति नै पदमा बसेर आफूहरूमाथि छानबिन गर्नु उचित नहुने भन्दै सुनारले अनुसन्धान अवधिभर सम्बन्धित व्यक्तिलाई जिम्मेवारीबाट अलग राख्नुपर्ने बताए।
‘आरोप लागेका मान्छेहरू जिम्मेवारीमा बसेर छानबिन हुन सक्दैन। बर्दी लगाएर बसेर आफैँमाथि छानबिन गर भन्न पाइँदैन,’ उनले भने।
प्रहरीका सामग्री खरिदमा संलग्न ठेकेदार र सम्बन्धित अधिकारीबीचको सम्बन्ध, भेटघाट तथा आर्थिक कारोबारसमेत अनुसन्धान गर्नुपर्ने उनको माग छ। आवश्यक परे सम्बन्धित व्यक्तिका मोबाइललगायतका प्रमाण नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने उनले बताए।
सार्वजनिक खरिदमा भएको अनियमिततालाई सामान्य प्रशासनिक छानबिनका रूपमा मात्र नलिई फौजदारी कसुरको कोणबाट समेत अनुसन्धान गर्नुपर्ने सुनारको भनाइ छ।
आफू १८ वर्षदेखि संसद् तथा सुरक्षा क्षेत्रको रिपोर्टिङसँग सम्बन्धित रहेको उल्लेख गर्दै उनले प्रहरी संगठनमा सामान खरिदका विषयमा पटक–पटक प्रश्न उठ्दै आएको बताए। सुशासन र भ्रष्टाचारविरुद्ध काम गर्ने म्यान्डेटसहित आफूहरू संसद्मा आएको भन्दै उनले प्रहरी तथा सुरक्षा निकायमा हुने खरिदसम्बन्धी अनियमितताको निष्पक्ष छानबिन आवश्यक रहेकोमा जोड दिए।
प्रकाशित: २७ श्रावण २०८३ १७:०३ बुधबार





