वैदिक ज्योतिष, धर्मशास्त्र र आधुनिक खगोलशास्त्रमा देवगुरु बृहस्पतिको स्थान अत्यन्त उच्च र महिमामय छ। बृहस्पतिको आकाशीय उपस्थिति केवल एउटा विशाल गैसीय ग्रहको भौतिक परिक्रमा मात्र नभई वैदिक ज्ञान-परम्परामा यसलाई मानव चेतना, विवेक, धर्म, न्याय, अध्यात्म, समृद्धि र जीवन-तत्त्वको मुख्य कारक ग्रहका रूपमा मानिन्छ। वेदहरूमा बृहस्पतिको स्तुति गर्दै समाजमा ज्ञान र धन-धान्यको समृद्धिका लागि प्रार्थना गरिएका धेरै सूक्तहरू पाइन्छन्।
दृग्गणितीय एवं भौतिक खगोलशास्त्रका अनुसार बृहस्पतिलाई सूर्यको एक पूर्ण परिक्रमा पूरा गर्न लगभग १२ वर्ष लाग्छ। तर, पृथ्वी स्वयं सूर्यको परिक्रमा गरिरहेकी हुनाले पृथ्वीबाट हेर्दा बृहस्पतिको सूर्यसँगको सापेक्षिक गति केही फरक देखिन्छ। बृहस्पति सूर्यको नजिक पुगेर अस्त हुने र पुनः पूर्व दिशामा उदय हुने प्रक्रिया लगभग १३ महिनाको अन्तरमा दोहोरिन्छ।
प्राचीन पूर्वीय खगोलशास्त्र र वराहमिहिरको बृहत्संहिता (अध्याय ८) अनुसार बृहस्पतिको यसै एक उदयदेखि अर्को उदयसम्मको १३ महिनाको अवधिलाई बृहस्पतिको 'एक महावर्ष' भनिएको छ।बृहस्पति जुन नक्षत्रमा अस्त भई पुनः पूर्व दिशामा उदित हुन्छ, सोही नक्षत्रको नामका आधारमा बाह्र महिनाको क्रम अनुसार कार्तिक, मार्गशीर्ष, पौष आदि 'कार्तिकादि महावर्ष'को नामाकरण गरिन्छ।
जब बृहस्पति पुनर्वसु वा पुष्य नक्षत्रमा उदित हुन्छ, तब खगोलीय गणना अनुसार विश्वव्यापी रूपमा 'पौष महावर्ष'को प्रारम्भ भएको मानिन्छ। यसअघि २०७१ त्यसअघि ५९ साल साउनमा पनि गुरु पुष्य नक्षत्रमा उदय भएको थियो।
आधुनिक दृग्गणितीय पञ्चाङ्ग तथा खगोलीय तालिका अनुसार विक्रम संवत् २०८३ मा बृहस्पतिको गोचर, उदय-अस्त र वक्री गतिको समयरेखा निम्नानुसार रहनेछ:
जेठ १८ गते: बृहस्पति मिथुन राशिबाट आफ्नो उच्च राशि कर्कटमा प्रवेश। असार ३१ गते: पुष्य नक्षत्रमा पुगी सूर्यको सामीप्यका कारण पश्चिम दिशामा अस्त। साउन २४ गते: पुष्य नक्षत्रमै पूर्व दिशामा नव-उदय यसै दिनदेखि आधिकारिक रूपमा 'पौष महावर्ष'को प्रारम्भ।
भदौ २ गते: पुष्य नक्षत्र पार गरी अश्लेषा नक्षत्रमा प्रवेश। कात्तिक १४ गते: अश्लेषा नक्षत्र समाप्त गरी मघा नक्षत्र र सिंह राशिमा प्रवेश। मङ्सिर २७ गते: सिंह राशिमा गुरुको वक्री गति प्रारम्भ।
माघ १० गते: वक्री अवस्थामै पुनः कर्कट राशिमा फिर्ता। चैत ३० गते: वक्री गति समाप्त भई पुनः मार्गी गति सुरु। मेदिनी ज्योतिष प्राचीन ऋषिहरूले हजारौँ वर्षको खगोलीय अवस्था र प्राकृतिक/सामाजिक परिघटनाहरूबीचको सहसम्बन्धको गहिरो अध्ययन गरी तयार पारिएको साङ्केतिक शास्त्र हो।
पौष महावर्षको विश्वव्यापी प्रभाव पुष्य नक्षत्रमा बृहस्पतिको उदय भई सुरु हुने पौष महावर्षलाई अत्यन्त शुभ र कल्याणकारी मानिन्छ। बृहत्संहिता अनुसार यस वर्ष विश्वमा सुख-शान्ति छाउनेछ। राष्ट्रप्रमुखहरू र विश्वका शासकहरूबीचको आपसी वैरभाव, कूटनीतिक तनाव र युद्धको सम्भावना कम भई मैत्रीपूर्ण सम्बन्ध कायम हुनेछ। कृषि उपज र धनधान्यको वृद्धि हुनेछ तथा अन्न सस्तो भई राष्ट्रिय समृद्धिका योजनाहरू सफल हुनेछन्।
त्यस्तै गर्ग संहिता अनुसार पनि यस महावर्षमा महामारी तथा रोगव्याधि, अकाल (दुर्भिक्ष), अनावृष्टि वा कुवर्षा, चट्याङको भय र चोरी-डकैतीका घटनाहरू शान्त हुन्छन्। सबै शुभ लक्षणहरूले युक्त भएकाले पौष वर्षलाई उत्तम मानिन्छ। बृहत्संहिताको संवत्सर पुरुष सिद्धान्त अनुसार आकाशीय नक्षत्रहरूलाई कालपुरुषको शरीरका रूपमा कल्पना गरिएको छ।
यसपटक साउन २४ गते बृहस्पतिको उदय हुँदा सूर्य संवत्सर पुरुषको 'हृदय' मानिने अश्लेषा नक्षत्रमा देखिन्छ। यदि अश्लेषा नक्षत्र पापग्रहबाट पीडित भएमा 'हृदये सस्यस्य नाशो ध्रुवम्' अर्थात् अन्नबाली र खेतीपातीमा केही नोक्सानी हुन सक्ने चेतावनी पनि ग्रन्थहरूले दिएका छन्।
यसअघि वि.सं. २०८१ को जेठमा सुरु भएको 'कार्तिक महावर्ष'मा सवारी दुर्घटना, अग्निकाण्ड र प्राविधिक बाधाहरू देखिएका थिए। वि.सं. २०८२ को असारबाट सुरु भएको 'मार्गशीर्ष महावर्ष'मा अनावृष्टि, बालीनालीको क्षति र राजनीतिक सङ्घर्ष बढ्न सक्ने तथा ऋषि पराशरका अनुसार मार्गशीर्ष वर्ष पनि कार्तिक महावर्ष जस्तै रहने भनेर नागरिकमा प्रकाशित "मिथुनमा गुरुको उदय र ग्रहगोचर" लेखमा विस्तृतमा प्रस्ट सङ्केत गरिएको थियो। ती कष्टकर वर्षहरूको तुलनामा वि.सं. २०८३ को साउन २४ देखि सुरु भएको पौष महावर्ष विश्वशान्तिका लागि सुखद सङ्केत मान्न सकिन्छ। यस महावर्षको शुभाशुभ प्रभाव २०८४ को भदौ महिनासम्म कायमै रहनेछ। बृहत्संहिता बाहेक प्राचीन भद्रबाहु संहिता, मेघमहोदय लगायतका संहिता ग्रन्थहरूमा विशेष फलित यसप्रकार उल्लिखित छः
कर्कट राशिको गुरुफल: कर्कट राशिमा गुरु रहँदा त्यसलाई 'आषाढ वर्ष' पनि भनिन्छ। यस समयमा आकाशमा 'कम्बल' नामक मेघको उत्पत्ति भई मध्यम वर्षा गराउँछ। व्यापारीहरूका लागि जाडो याम (हेमन्त र शिशिर ऋतु) मा रेशमी वस्त्र, जाइफल, ल्वाङ र मरिच सञ्चय गरी वैशाख र जेठ महिनामा बिक्री गर्दा राम्रो लाभ मिल्ने शास्त्रीय निर्देश छ। कपास, कपडा, घिउ, तेल र गुँडको व्यापारबाट पनि लाभ हुनेछ।
सिंह राशिमा गुरुफल: सिंह राशिमा बृहस्पति प्रवेश गर्दा त्यस वर्षलाई 'श्रावण वर्ष' भनिन्छ। त्यस समयमा 'वासुकी' नामक मेघले वर्षा गराउँछ, गाईहरूले प्रशस्त दूध र घिउ दिन्छन् तथा पृथ्वी जलले भरिपूर्ण हुन्छ। देवता र ब्राह्मणहरूको पूजा-आजा हुन्छ एवं सज्जन पुरुषहरूको मान-सम्मान बढ्छ। तर मानिसहरूमा रोग, आपसमा विवाद र पशु-चौपायाहरूको मूल्यमा तेजी हुन सक्छ। २०८३ कात्तिक १४ गतेदेखि माघ १० गतेसम्म गुरुको भ्रमण सिंह राशिमा हुनेछ।
सिंह राशिमा वक्री गुरु: मङ्सिर २७ गतेदेखि सिंह राशिमा गुरु वक्री हुँदा देशमा सुकाल हुनेछ र जनस्वास्थ्य अनुकूल रहनेछ। तर मङ्सिरदेखि जेठसम्म अन्नको भाउ भने केही महँगो रहन सक्छ। अघिल्लो वर्ष कर्कट राशिमा गुरु वक्री भएको फलमा देशमा घोर अकाल (दुर्भिक्ष) पर्ने, शासकहरू युद्धमा तत्पर हुने। राष्ट्र विघटन वा सङ्कटतर्फ धकेलिने तथा शत्रुता, उपद्रव र अशान्ति छाउँने भनेर संकेत गरिएको थियो।
सजग रहनुपर्ने प्रभाव
एक वर्ष भित्र तीन राशि स्पर्श: वि.सं. २०८३ मा गुरुले मिथुन, कर्कट र सिंह गरी तीनवटा राशिलाई स्पर्श गर्नेछन्। मेघमहोदयमा भनिएको छ: एकस्मिन्नपि वर्षे चेज्जीवो राशित्रयं स्पृशेत्। तदा भवति दुर्भिक्षं व्रतपूर्णा वसुन्धरा ।।
अर्थात् यदि एउटै वर्षभित्र बृहस्पतिले तीन राशिलाई स्पर्श गर्दछ भने त्यस वर्षमा अनिकाल (दुर्भिक्ष) को जोखिम रहने र मानिसहरू कष्ट निवारणका लागि व्रत-उपासनामा लीन हुने भएकाले पृथ्वी अनुष्ठानले परिपूर्ण हुन्छ भनिएको छ। साथै, यसपटक जेठ महिनामा परेको अधिकमासमा बृहस्पतिले राशि परिवर्तन गर्नु पनि कुनै प्रकारको देशव्यापी सङ्कट हुनसक्ने मानिन्छ। यसअघि २०७२ असारको अधिकमासमा गुरु र मंगल दुवैले राशि परिवर्तन गरेका थिए। आगामी कात्तिक १४ देखि मङ्सिर तेस्रो सातासम्म र माघ १० गतेदेखि वर्षको अन्तिमसम्म नै गुरु ग्रह राहु-केतु जस्ता पाप ग्रहको प्रभावमा रहनु पनि विश्वपरिवेशका लागि त्यति अनुकूल मानिँदैन।
दक्षिण र पूर्व दिशामा शनिको दृष्टि परिरहेको छः
गएको वर्ष जस्तै यस वर्षभरि नै शनि ग्रह दहन मार्गको नक्षत्रमा राहु अधिष्ठित राशिको स्वामी भएर गुरुको उत्तर दिशाको जलतत्त्वीय राशि मीनमा भ्रमण गरिरहनेछ। मीनमा रहेको शनिले बृहस्पतिको स्वामित्वमा रहेका अर्को पूर्व दिशाको धनु राशि तथा दक्षिण दिशामा शुक्रको वृष र बुधको कन्या राशिमा पूर्ण दृष्टि राख्नेछ। मेदिनी सिद्धान्त अनुसार जुन दिशातर्फ शनिको दृष्टि पर्दछ, पुरै विश्व वा कुनै देश तथा राज्यको त्यस दिशातर्फ अशान्ति, हिंसा वा सङ्घर्ष बढ्न सक्ने भएकाले सम्बन्धित दिशा तर्फ अलि सजगता अपनाउनु उपयुक्त हुन्छ।
पुष्य नक्षत्र र गुरुको पौराणिक तथा खगोलीय रूपक
शास्त्रमा पुष्य नक्षत्रमा बृहस्पतिको भ्रमणलाई बुझाउन ऋग्वेदको एउटा प्रसिद्ध प्रतीकात्मक कथाको सहारा लिइएको पाइन्छ: सोमो राजा ब्रह्मजायां पुनः प्रायच्छद् अहृणीयमानः । अन्वर्तिता वरुणो मित्र आसीदग्निर्होता हस्तगृह्या निनाय ।। (ऋग्वेद १०.१०९.२)
प्राचीन आख्यानमा पुष्य नक्षत्रलाई देवगुरु बृहस्पतिको पत्नी 'तारा'का रूपमा चित्रण गरिएको छ। बृहस्पतिलाई सूर्यको चक्र पूरा गरी पुनः पुष्य नक्षत्रमा फर्किन लगभग १२ वर्ष लाग्छ। यस १२ वर्षे वियोगको अवधिमा चन्द्रमा (सोम) ले हरेक महिना (लगभग २७ दिनको चक्रमा) पुष्य नक्षत्र भएर भ्रमण गर्दै गुरुपत्नीको सुरक्षा गर्दछ।
सूर्यले पनि वर्षको एकपटक पुष्यतारालाई प्रणाम गर्दछ भने बुध र शुक्र पनि वर्षमा एकपटक पुष्यको समीप पुग्छन्। जब बृहस्पति १२ वर्षपछि फर्किन्छन्, तब चन्द्रमा, सूर्य, बुध र शुक्रले गुरुपत्नी पुष्यतारालाई गुरुको हातमा सुम्पिदिन्छन्। यो आख्यान पौराणिक कथा मात्र नभई खगोलीय दृष्टिले पृथ्वीको क्रान्तिवृत्त नजिक रहेका ग्रह र नक्षत्रहरूको गतिको काव्यिक एवं प्रतीकात्मक रूपक हो।
आधुनिक विज्ञानका दृष्टिले ग्रहहरूले मानव भाग्य वा बजारलाई सोझै सञ्चालन गर्दैनन्, तर प्राचीन ऋषिहरूले आकाशीय गति र पृथ्वीका घटनाक्रमबीच जुन अनुभवजन्य सहसम्बन्ध देखे, त्यो मेदिनी ज्योतिषको अध्ययनको मूल आधार हो। यसवर्षका राजा ग्रह बृहस्पति साउन २४ गते आफ्नो प्रिय नक्षत्र पुष्यमा उदय भएसँगै सुरु भएको पौष महावर्षले विश्वभर शान्ति, सद्भाव र समृद्धिको नयाँ सङ्केत गरेको छ।
आकाशका पिण्डहरूको प्रत्यक्ष अवलोकन तथा गणितीय यथार्थलाई उपेक्षा गरेर केवल पौराणिक व्याख्यामा अलमलिनु वा दर्शनलाई बिर्सेर विशुद्ध यन्त्रवत् गणनामा मात्र सीमित हुनु-यी दुवै एकाङ्गी दृष्टिकोण हुन्। आकाशीय गतिको वस्तुनिष्ठ खगोलीय अध्ययन र प्राचीन ग्रन्थहरूका प्रतीकात्मक फलितको सम्यक् सन्तुलन नै वैदिक खगोल परम्पराको मूल आत्मा हो।
प्रकाशित: २७ श्रावण २०८३ १८:०८ बुधबार

