एसियन नेटवर्क फर फ्रि इलेक्सनले फागुन २१ मा सम्पन्न हुने नेपालको प्रतिनिधि सभा निर्वाचनका लागि अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण मिशन परिचालन गरेको छ।
मिशनले निर्वाचनको समग्र प्राविधिक व्यवस्थापनको स्वतन्त्र मूल्यांकन गर्नुका साथै नेपालको विकसित हुँदै गरेको लोकतान्त्रिक परिवेशमा राजनीतिक प्रतिस्पर्धाको अवस्थाको समीक्षा गर्ने जनाएको छ। मिशनले विशेषगरी निर्वाचन आयोगको तयारी, स्वतन्त्रता र सार्वजनिक विश्वसनीयतामा ध्यान केन्द्रित गर्ने जननाएको छ । साथै सरकारको निर्वाचन प्रक्रिया पारदर्शी, जवाफदेही र निष्पक्ष रूपमा सञ्चालन गर्न सक्ने क्षमताको समेत मूल्यांकन गरिने बताएको छ ।
उक्त नेटवर्कका अनुसार प्रक्रियागत अनुपालनमा मात्र सीमित नभएर निर्वाचनको कानुनी संरचना र यसको कार्यान्वयनले लोकतान्त्रिक संस्थाहरूप्रति सार्वजनिक विश्वास पुनर्स्थापित गर्न तथा राजनीतिक दलहरूलाई प्रतिनिधित्व र शासनका वैध माध्यमका रूपमा सुदृढ गर्न कत्तिको योगदान पुर्याउँछ भन्ने विषय पनि अध्ययनको दायरामा रहने जनाएको छ ।
मिशनले राजनीतिक समावेशितालाई विशेष प्राथमिकतामा राख्दै युवा, महिला, दलित, आदिवासी जनजाति, यौनिक तथा लैगिकं अल्पसङख्यक, अपाङ्गता भएका व्यक्ति, समुदाय तथा विस्थापित व्यक्तिहरूको अर्थपूर्ण सहभागिताको मूल्यांकन गर्ने र सूचना वातावरणको अखण्डता, निर्वाचनसम्बन्धी नियामक उपायहरू, राजनीतिक अभियान सञ्चालन, मतदाताको सूचनामा पहुँच तथा राजनीतिक प्रतिस्पर्धाको निष्पक्षतामाथि पनि अध्ययन हुने बताएको छ ।
विगतमा पनि निर्वाचनपूर्व मूल्यांकन मिशन परिचालन गरी कानुनी तथा प्रशासनिक ढाँचा, संस्थागत तयारी, नागरिक तथा राजनीतिक क्षेत्रको अवस्था, निर्वाचन सुरक्षा तथा युवा र सीमान्तकृत समुदायहरूको सहभागितालगायत विषयमा विस्तृत समीक्षा गरेको बताएको छ । नेटवर्कले स्वतन्त्र र गैरपक्षपाती अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण मिशन भएको बताउँदै कुनै पनि घरेलु पर्यवेक्षण पहलबाट अलग रूपमा सञ्चालन हुने जनाएको छ ।
अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलमा बंगलादेश, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र युनाइटेड किंगडमका गरी २० जना पर्यवेक्षक सहभागी हुनेछन्। उनीहरू सातै प्रदेशमा परिचालित हुने जनाएको छ ।
प्रकाशित: १४ फाल्गुन २०८२ १४:०२ बिहीबार



-600x400.jpg)

