२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

ओलीमाथि राजीनामाको तीव्र दबाब : एमाले पुनर्गठन नगरिए ‘अधोगति’ हुने पोखरेलको चेतावनी

फाइल तस्बिर

नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले यतिबेला एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडि बढ्न सक्ने दाबी गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु रहेको तर्क गरेका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यतिबेला नेकपा (एमाले) आत्मसमीक्षा र पुनर्गठनको बाटो बाट मात्र अगाडि बढ्न सक्छ। जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु हो।’ पोखरेल गत महाधिवेशनमा नेतृत्व परिवर्तनको एजेन्डा लिएर अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेका थिए। तर उनी नराम्रोसँग पराजित हुनुपरेको थियो।

पोखरेलको यो बयान एमालेको जारी सचिवालय बैठकमा नेतृत्व परिवर्तनलाई लिएर चर्काचर्की भइरहेकै बेला आएको हो। शुक्रबारको बैठकमा पार्टीका पाँच जना उपाध्यक्षहरूले धारणा राखेका थिए, जसमध्ये रामबहादुर थापा ‘बादल’ बाहेक चार जना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीसँग राजीनामा मागेका छन्।

उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले एमालेलाई वर्तमान कमजोर अवस्थामा पुर्‍याएको जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्नेमा जोड दिँदै नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका हुन्।

अध्यक्ष ओलीले भने राजीनामा नदिने अडान राख्दै उपाध्यक्षहरूलाई विरोधी शक्तिसँग मिलेर पार्टीलाई सङ्कटमा पार्ने प्रयास गरेको आरोप लगाएका थिए। नेतृत्वको विषयलाई लिएर तीव्र विवाद भएपछि शुक्रबार स्थगित गरिएको सचिवालय बैठक शनिबार (आज) बिहान ११:३० बजे गुण्डुस्थित ओली निवासमा पुनः बस्दैछ।

प्रकाशित: ९ जेष्ठ २०८३ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App