२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

मोदीका तर्फबाट ओलीलाई भ्रमणकाे निम्तो दिन आउँदै भारतीय विदेश सचिव

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको आधिकारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन्। भदौको पहिलो साता विदेश सचिव मिस्री नेपाल आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मिस्रीको आगमन भदौ अन्तिम साता तय भएको प्रधानमन्त्री ओलीको भ्रमणसँग सम्बन्धित रहेको स्रोतले बतायो। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट आधिकारिक निम्ता ल्याएर आउन लागेको बताइएको छ। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमण तय भएको पुष्टि गरे । उनले भने, ‘विदेश सचिव ज्यु नेपाल आउने कार्यक्रम तय भएको छ। विस्तृत विवरण पछि सार्वजनिक गर्छौँ।’ 

पछिल्लो पटक ओली प्रधानमन्त्री भएपछि भारतले नरुचाएको टिप्पणी हुने गरेको छ। सोही कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिन बित्दासमेत भारतले ओलीलाई भ्रमणको निम्तो दिएको थिएन। 

यस पटक भदौ अन्तिम साताका लागि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई भ्रमणका लागि निम्त्याएका छन्। तर परराष्ट्र मन्त्रालयले भ्रमण तालिका भने सार्वजनिक गरिसकेको छैन। 

प्रकाशित: २२ श्रावण २०८२ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App