ताप्लेजुङमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ल्याएको मत भन्दा समानुपातिकमा कम मत पाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे १३ हजार ९ सय ६२ मत ल्याएर विजयी भएका थिए। तर समानुपातिकमा भने एमालेले प्रत्यक्ष भन्दा २ हजार ६ सय १७ मत कम अर्थात् ११ हजार ३ सय ४५ मत ल्याएको छ।
थेबेका निकटतम प्रतिष्पर्र्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले ११ हजार ७ सय ११ मत ल्याएका थिए । कांग्रेसले समानुपातिकतर्फ प्रत्यक्ष भन्दा २ हजार ६८ मत कम ल्याएको छ। कांग्रेसले ९ हजार ६ सय ४३ मत ल्यायो।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकमा ५ हजार २ सय १४ मत ल्याएको छ। उक्त पार्टीका तर्फबाट प्रत्यक्षतर्फ प्रतिष्पर्धा रहेका खेलप्रसाद बुढा क्षेत्रीले ६ हजार ६ सय ७५ मत ल्याएका थिए। बुढाक्षेत्रीले प्राप्त गरेको मत भन्दा नेकपाले समानुपातिकतर्फ प्राप्त गरेको मत १ हजार ५ सय ६९ ले कम हो।
श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २ सय ९ मत ल्याएका थिए। तर समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले प्रत्यक्षमा राईले पाएको भन्दा ३ हजार ४ सय ८९ मत थपेर कुल ८ हजार ६ सय ९८ मत ल्याएको छ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ल्याएको मत भन्दा उक्त पार्टीले समानुपातिकतर्फ २ हजार ३ सय ४० मत बढि छ। समानुपातिकमा रास्वपाले ६ हजार ४ सय ९५ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लावुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापाले प्राप्त गरेको मत भन्दा समानुपातिमा ति पार्टीलाई प्राप्त भएको मत बढी देखिएको छ। लावुङले २ सय ११ मत प्राप्त गरेका थिए। समानुपातिकमा भने मञ्चले ५ सय १० मत प्राप्त गरेको छ। यो प्रत्यक्ष भन्दा २ सय ८९ मतले बढी हो। राप्रपा उम्मेदवार थापाले समानुपातिक भन्दा २ सय ३० मत कम प्राप्त गरेका छन्। उनले प्रत्यक्षमा १ सय ८५ मत प्राप्त गरेका थिए। राप्रपाले समानुपातिकमा ४ सय १५ मत प्राप्त गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का नरपति पौडेलले समानुपातिक भन्दा बढी मत आफुले ल्याएका छन्। उनले १ सय ५५ मत ल्याउँदा समानुपातिकमा भने उनको भन्दा ३६ मत कम अर्थात् १ सय १९ मत ल्याएको छ। जनता समाजवादी पार्टीका अरुण लेछर्बो लिम्बूले समानुपातिक भन्दा बढी मत ल्याएका छन् । उनले १ सय ४१ मत ल्याउँदा उनीआवद्ध दलले प्रत्यक्ष भन्दा २५ मत कम अर्थात् १ सय १६ मत ल्याएको छ।
प्रकाशित: २५ फाल्गुन २०८२ ११:३५ सोमबार





