५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

देउवासँगको भेटमा विश्वप्रकाशले भने: निर्वाचनअघि महाधिवेशन नभए महामन्त्री रहन्न

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनअघि पार्टीको महाधिवेशन नभए आफूले पदबाट राजीनामा दिने बताएका छन्। आइतबार सभापति शेरबहादुर देउवासँगको भेटमा विश्वप्रकाशले विशेष महाधिवेशनको मुद्दा सम्बोधन नभए महामन्त्री पदबाट राजीनामा दिने बताएका हुन्। 

भर्खरै १८ दिन सिंगापुरको उपचारपछि फर्किएका देउवाले शुक्रबारयता पार्टीको गतिरोध अन्त्य गर्न अनौपचारिक रूपमा नेताहरूसँग संवाद गरिरहेका छन्। यस क्रममा आइतबार महामन्त्री विश्वप्रकाशसँग एक घण्टा संवाद गरेका थिए। सोही संवादमा उनले पार्टी विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर पेस गरेको बताउँदै पुसभित्र महाधिवेशन नभए पदमा नबस्ने बताएका हुन्। 

‘विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने गरी या त नियमित महाधिवेशन गर्नुपर्छ या त विशेष महाधिवेशन गर्नुपर्छ,’ भेटमा विश्वप्रकाशले भनेको कुरा बताउँदै स्रोतले भन्यो,‘समयमै नियमित महाधिवेशन गर्ने हो भने विशेष महाधिवेशनको मागलाई सम्बोधन हुन सक्छ। तर नियमित महाधिवेशन गर्न भ्याइँदैन भन्ने हो भने विधानले तोकेको समयभित्र विशेष महाधिवेशन गर्नुपर्छ।’  त्यो निर्णय नभए आफू विधान विपरीत हुन जाने कुराको साक्षी नबस्ने भनेको स्रोत बताउँछ। ‘प्रस्ट भाषामा विश्व दाइले त्यसो अवस्थामा महामन्त्री पदबाट राजीनामा दिन्छु भनेको हो,’ स्रोतले भन्यो। 

तर, सभापति देउवाले भने पार्टीभित्र सबैको धारणा सुनेर सबै मिलेर जानुको विकल्प नभएको बताएका थिए।  

प्रकाशित: ३० कार्तिक २०८२ १७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App