१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

शपथ लगत्तै सांसद थेबेले भने: मेरो पहिलो महिनाको तलब आगेपा आधारभूत विद्यालयलाई

ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले आफ्नो पहिलो महिनाको पारिश्रमिक शिक्षा क्षेत्रका लागि खर्च गर्ने घोषणा गरेका छन्। उनले सिदिङवा गाउँपालिकास्थित एक विद्यालयको भवन निर्माण तथा जग्गा खरिदका लागि उक्त रकम सहयोग गर्ने बताएका हुन्।

प्रतिनिधिसभा सदस्यको रूपमा बिहीबार शपथ ग्रहण गरेलगत्तै सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक सिदिङवा गाउँपालिकाको आगेपा आधारभूत विद्यालयको जग्गा व्यवस्थापन र भवन निर्माणमा सहयोग गर्ने निर्णय गरेका हुन्।

निर्वाचनपछि आफ्नो क्षेत्रमा पुगेर उनले हावाहुरीका कारण क्षति पुगेका सार्वजनिक तथा निजी संरचनाको अवलोकन गरेका थिए। साथै सिदिङवा र सिरीजंघा गाउँपालिकाका मतदातासँग भेटघाट गर्दै धन्यवाद ज्ञापन पनि गरेका थिए।

निर्वाचनका क्रममा नै उक्त विद्यालयको अवस्थाबारे जानकारी लिएका उनले निर्वाचित भएपछि स्थलगत अध्ययन गरी सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। विद्यालयका बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक आधार तयार पार्ने विश्वासका साथ आफूले पारिश्रमिक सहयोग गर्ने उनले बताएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार थेबे १३ हजार ७६२ मतसहित निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २५१ मतान्तरले पराजित गरेका थिए। निर्वाचनमा १३ राजनीतिक दलका १३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

 

प्रकाशित: १२ चैत्र २०८२ १५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App