१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपाको ‘अर्डर’ मा खोसियो आईजीपी कार्कीको जिम्मेवारी

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताएका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले बदलिँदो परिस्थिति र पार्टीको निर्देशनअनुसार सरकारले आईजीपीको जिम्मेवारी हेरफेर गर्ने कदम चालेको बताएका हुन्।

‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ। पार्टीबाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भनेर निर्देशन आएको थियो’, मन्त्री पोखरेलले भने ‘त्यसपछि जिम्मेवारी हेरफेर गरिएको हो।’

मन्त्री पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रहरीभित्रको नयाँ व्यवस्थापनबारे जानकारी दिएका हुन्।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेको छ। सोही नयाँ पदमा आईजीपी कार्कीलाई खटाइएको छ।

कार्कीको सरुवापछि रिक्त रहेको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई बढुवा गर्ने निर्णय सरकारले गरेको छ। यो निर्णय बुधबारदेखि नै लागु हुने मन्त्री पोखरेलले जानकारी दिए।

आईजीपी कार्कीलाई कारबाही गरिएको भन्ने प्रश्नमा मन्त्री पोखरेलले अस्वीकार गरे। उनले यसलाई जिम्मेवारी फेरबदल मात्र भएको दाबी गरे। प्रधानमन्त्रीलाई शान्ति सुरक्षासम्बन्धी सल्लाह दिने काम आफैंमा अत्यन्त संवेदनशील र महत्त्वपूर्ण जिम्मेवारी भएको उनले बताए।

सञ्चारकर्मीले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले प्रहरीको प्रमाण नष्ट गरेको विषयमा सोधेको प्रश्नमा मन्त्री पोखरेलले त्यसलाई सामाजिक सञ्जालको हल्ला मात्र भएको जिकिर गरे।

‘त्यो आधिकारिक कुरा होइन, तथ्य बाहिर आएमा अनुसन्धान गर्ने निकाय र अदालतले आफ्नो काम गर्छन्’, उनले भने ‘यसमा सरकारको पक्ष वा विपक्ष भन्ने हुँदैन।’

यद्यपि, प्रहरीभित्रैबाट कार्कीको राजीनामा मागिएको वा उनीविरुद्ध प्रमाण खोजिएको भन्ने कुरा हिजोको ब्रिफिङमा उठेको उनले स्वीकार गरे।

अर्कोतर्फ, बर्खास्तमा परेका कार्की मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालत जाने तयारीमा छन्। सरकारको निर्णय सार्वजनिक भएलगत्तै उनले आफूनिकट व्यक्तिहरूसँग कानुनी उपचार खोज्ने प्रतिक्रिया दिएका हुन्।

कार्कीको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो- ‘यो सरकारले पहिलेदेखि नै काम गर्न दिएको थिएन, अप्ठेरो पारिरहेको थियो। अब कानुनी लडाइँमा जान्छु।’

प्रकाशित: १८ कार्तिक २०८३ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App