राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान युवा नेतृत्व असफल भएमा ‘युवाहरूले देश चलाउन सक्दैनन्’ भन्ने गलत भाष्य स्थापित भई भावी पुस्ताका लागि राजनीति र नेतृत्वको ढोका सधैँका लागि बन्द हुने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार पर्यटन बोर्डको हलमा रास्वपाद्वारा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।
लामिछानेले अहिलेको युवा पुस्ताका अगाडि ऐतिहासिक अवसरसँगै निकै ठूलो चुनौती र जिम्मेवारीको भार रहेको उल्लेख गरे।
‘हामीले यो प्रमाणित गरेर देखाउनुपर्नेछ कि युवाले चाहँदा परिवर्तन सम्भव छ,’ लामिछानेले भने, ‘यदि हामीले यो युवा नेतृत्वलाई परिणाममा बदल्न सकेनौं भने भोलि आलाकाँचाबाट हुँदैन, परिपक्व र अनुभवी नै चाहिन्छ भन्ने जबर्दस्त भाष्य सिर्जना गरिनेछ। त्यो भविष्यको अर्को युगका लागि निकै घातक हुनेछ। त्यसैले यो युवा नेतृत्व कुनै पनि हालतमा सफल हुनैपर्छ।’
सभापति लामिछानेले रास्वपालाई केवल वैकल्पिक शक्तिका रूपमा मात्र नहेर्न आग्रह गरे। उनले रास्वपा देशको निर्विकल्प शक्ति बन्न आएको दाबी गरे।
‘हामी विकल्प बन्न आएका हौं, विकल्प खोज्न आएका होइनौं। रास्वपा वैकल्पिक शक्ति होइन, निर्विकल्प शक्ति हो,’ लामिछानेले भने, ‘जब सही बाटो हिँड्न छाडिन्छ वा आम मानिसको कुरा सुन्न छाडिन्छ, तब मात्र विकल्पको खोजी हुन्छ। विकल्प खोजिरहने कुरालाई मात्रै विकल्प भनिँदैन, निर्विकल्प भएर काम गर्ने जिम्मेवारी आज हाम्रो काँधमा आएको छ।’
सरकारको ४/५ महिनाको अवधिबारे भइरहेका आलोचना र असन्तुष्टिको जवाफ दिँदै लामिछानेले अहिले सरकारले आगामी १५/२० वर्षका लागि बलियो जग बसाउने काम गरिरहेको बताए। घर बनाउँदा जग खन्ने क्रममा धुलो उड्ने र हल्ला हुने उल्लेख गर्दै उनले अहिल्यै निराशा नबाँड्न आग्रह गरे।
‘आजभोलि अलिकति नोइज र हल्ला धेरै सुनिन्छ। चार महिनामा के भयो भनेर प्रश्न गरिन्छ,’ उनले भने, ‘तर म विश्वस्त पार्न चाहन्छु, सरकारले यस्तो बलियो जग खन्दै छ कि कम्तीमा अबको २० वर्ष त्यस जगमा राम्रो संरचना खडा हुन सकोस्। जग खनिरहेको बेला कस्तो भवन बन्छ भन्ने देखिँदैन। भ्रममा नपर्नुहोस्, हामी परिणाम दिने गरी काम गर्दैछौं।’
लामिछानेले सरकारले पुराना राजनीतिक नियुक्तिहरू खारेज गर्दै खुला प्रतिस्पर्धा र योग्यता (मेरिट) का आधारमा सक्षम नागरिकहरूलाई अवसर दिने परिपाटी सुरु गरेको दाबी गरे।
‘कोही चिनेका आधारमा, भनिएका आधारमा वा कुनै दलको आस्था बोकेका आधारमा होइन, वास्तविक क्षमताका आधारमा अघि बढ्न पाओस् भनेर सरकारले अध्यादेश नै ल्याएर योग्य नेपालीका लागि अवसरको ढोका खोलेको छ,’ उनले भने, ‘संसारभर रहेका नेपालीहरूलाई म भन्न चाहन्छु, आफ्नो योग्यता र क्षमता अनुसार देश सेवा गर्न आउनुहोस्, अब नातावाद र कृपावाद चल्दैन।’
लामिछानेले राजनीतिक खिचातानीका बीच पुराना र अनुभवी पुस्ताप्रति युवाहरूबाट कतिपय अवस्थामा आवश्यक सम्मान पुग्न नसकेको स्वीकार गर्दै आत्मसमीक्षा गरे।
‘हिजो अलिकति सजिलो थियो, पाकाहरूले देश चलाए, युवा आएनन् भनेर दोष लगाइन्थ्यो। तर आज संसद्मा ठूलो सङ्ख्यामा युवाहरू हुनुहुन्छ, सरकारमा युवा हुनुहुन्छ,’ उनले भने, ‘अब कसलाई दोष दिने ? अब हामीलाई पन्छिने वा बहाना बनाउने छुट छैन। पद र पावरमा पुग्दैमा सपना पूरा हुँदैन, त्यसपछिको जिम्मेवारी अझ ठूलो हुन्छ।‘
आजको समाजमा धैर्यको कमी देखिएको उल्लेख गर्दै उनले तत्काल नतिजा खोज्दा छिट्टै निराश हुने खतरा बढेको बताए।
‘संसारभर नै यो जेनेरेसनमा धैर्यको कमी देखिएको छ। लामो कुरा सुन्ने, व्याख्या बुझ्ने चासो घट्दै गएको छ र तुरुन्तै रिजल्ट चाहिएको छ,’ उनले भने, ‘छिटो परिणाम खोज्दा छिटै निराश हुने समाज पो बनिरहेका छौं कि भन्ने चिन्ता छ। तर परिवर्तन र विकास रातारात हुँदैन, यसका लागि इमानदार प्रयास र समय चाहिन्छ।’
निजी क्षेत्र र विश्वभरका अध्ययनहरूको उदाहरण दिँदै लामिछानेले युवा र महिलाहरूले नेतृत्व गरेका कम्पनी तथा संस्थाहरू संसारमै अब्बल ठहरिएको बताए।
‘प्राइभेट सेक्टरमा युवा र महिला उद्यमीहरूले संसारलाई चकित पारिरहेका छन्। अब राजनीतिमा पनि युवा र महिलाको नेतृत्वले उत्कृष्ट नतिजा दिनसक्छ भन्ने कुरा हामीले हाम्रो कर्मबाट प्रमाणित गरेर देखाउनु छ,’ उनले जोड दिए।
सभापति लामिछानेले अन्तर्राष्ट्रिय युवा दिवस केवल क्यालेन्डरको औपचारिकता वा भाषण गर्ने दिन मात्र नभएर देशमै रोजगारी सिर्जना गर्ने, युवा पलायन रोक्ने र प्राप्त उपलब्धिहरूलाई नतिजामा बदल्ने सङ्कल्पको दिन हुनुपर्ने बताए।
प्रकाशित: २७ श्रावण २०८३ १९:३२ बुधबार





