राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले वर्तमान सरकार र आफ्नो पार्टीले जनअपेक्षाअनुसार काम गर्न नसके मुलुकमा राजनीतिप्रति कहिल्यै विश्वास नजाग्ने बताएका छन्।
नागरिक न्युजको डिजिटल संवाद ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उनले यो कार्यकाल रास्वपा र सिंगो मुलुकका लागि अन्तिम अवसर भएको बताए।
सांसद पोखरेलले विगतमा नेपाली कांग्रेस, माओवादी (हाल नेकपा) र एमाले नेतृत्वका सरकारहरू दुई तिहाइ बहुमत हुँदाहुँदै पनि किन ढले भन्ने विषयबाट आफूहरूले पाठ सिकेको उल्लेख गरे।
‘विगतका सरकारहरूको असफलता हाम्रा लागि शिक्षा हो, हामी ती गल्ती दोहोर्याउन चाहँदैनौँ,’ उनले भने, ‘अहिलेको सरकारले लिएको गतिको उद्देश्य नै ५ वर्षसम्म परिणाममुखी काम गरेर नागरिकको भरोसा जित्नु हो।’
पोखरेलले रास्वपामा ‘आफ्नो मान्छे’ भनेर बचाउने संस्कार नरहेको दाबी गरे। उनले पार्टीभित्र एउटा विशेष संयन्त्रले प्रत्येक सांसद र मन्त्रीको कार्यसम्पादन निगरानी गरिरहेको जानकारी दिए।
‘हाम्रो आन्तरिक ग्रुपमा कसैबाट सानो त्रुटि वा नातावाद कृपावादको गन्ध आएमा तत्कालै खबरदारी हुन्छ, कोही पनि ट्र्याक बाहिर जान सक्दैन,’ उनले सुनाए।
उनले मुलुकको दुर्गति र बेरोजगारीको मुख्य जड भ्रष्टाचार भएको भन्दै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको बताए।
‘अहिले जनतामा ठूलो आशा र भरोसा छ, यो भरोसा तोड्ने छुट हामीलाई छैन,’ उनले भने, ‘हामीले इमानदारीका साथ नतिजामुखी काम गर्नैपर्छ, अन्यथा जनताले हामीलाई पनि दण्डित गर्नेछन्।’
प्रकाशित: २ वैशाख २०८३ २०:३९ बुधबार




