२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रतिपक्षी चुक्यौं भने लोकतन्त्र नै लर्खराउँछ: सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले संसद्‌मा प्रमुख प्रतिपक्षी दलले प्रभावकारी भूमिका निर्वाह गर्न नसके लोकतन्त्र नै धरापमा पर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको जत्तिकै प्रतिपक्षीको पनि जिम्मेवारी हुने र आफूहरू चुक्दा समग्र लोकतान्त्रिक प्रणाली लर्खराउने बताए।

सभापति थापाले भने, ‘हामी अहिले सङ्घको प्रमुख प्रतिपक्षी दल हौँ। सरकारको जति जिम्मेवारी हुन्छ, त्यत्तिकै जिम्मेवारी प्रतिपक्षी दलको पनि हुन्छ। प्रतिपक्षी अलिकति मात्रै चुक्यौं र ठीक भूमिका निर्वाह गर्न सकेनौं भने लोकतन्त्र लर्खराउँछ।’

उनले जनताले निर्वाचनमार्फत प्रतिपक्षीलाई सरकारलाई उत्तरदायी बनाउने र ठीक ठाउँमा उभ्याउने म्यान्डेट दिएको उल्लेख गरे।

सरकारको रवैया र प्रवृत्तिको आलोचना गर्दै थापाले अलोकतान्त्रिक कार्यहरूमा डटेर प्रश्न उठाउने प्रतिबद्धता जनाए। उनले थपे, ‘सरकारले गर्ने ठीक काममा हामी मद्दत गर्छौँ तर सरकारको प्रवृत्ति अलोकतान्त्रिक हुँदै गएमा त्यसलाई प्रश्न गर्ने र ठीक ठाउँमा ल्याउने हाम्रो कर्तव्य हो।’

सुशासनका विषयमा बोल्दै सभापति थापाले सार्वजनिक पदमा बसेका व्यक्तिले एक रुपैयाँ पनि अनियमितता गरेमा त्यो किमार्थ स्वीकार्य नहुने स्पष्ट पारे। स्थानीय तहदेखि केन्द्रसम्मका जनप्रतिनिधिले गर्ने भ्रष्टाचारमा पार्टीले शून्य सहनशीलता अपनाउने उनको अडान छ।

आगामी सातादेखि सातै प्रदेशको भ्रमणमा निस्कने जानकारी दिँदै थापाले प्रदेश र स्थानीय सरकारको नीति, बजेट र मुलुकको वर्तमान आर्थिक सङ्कटका विषयमा छलफल गरिने बताए।

उनले पार्टीभित्रको बृहत्तर एकता र सुदृढीकरणका लागि सबै पक्षलाई मिलाएर लैजानु आफ्नो मुख्य प्राथमिकता रहेको समेत उल्लेख गरे।

प्रकाशित: १९ वैशाख २०८३ १७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App