वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचनअघि जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरिनुलाई सकारात्मक मानेका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको सदस्य निर्वाचनअघि उक्त प्रतिवेदन आएको भए त्यसले निर्वाचनको नतिजामै प्रभाव पार्न सक्ने र चुनाव नहुन पनि सक्ने उनको विश्लेषण छ।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै डा. ज्ञवालीले यस्तो बताएका हुन्।
‘जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगले आफ्नो प्रतिवेदन चुनावअघि नदिनु राम्रो भयो,’ ज्ञवालीले भने, ‘यदि चुनावभन्दा अगाडि त्यो प्रतिवेदन आएको भए सायद चुनाव नै नहुन पनि सक्थ्यो। आयोगले विवेक पुर्याएर राम्रो गर्यो।’
यद्यपि, उनले उक्त प्रतिवेदन चुनाव सकिएलगत्तै सार्वजनिक गरिनुपर्नेमा भने जोड दिएका छन्। उनले भने, ‘अब चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ। अब त्यो प्रतिवेदन सार्वजनिक गरिनुपर्छ।’
फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिटसहित ऐतिहासिक जित हासिल गरेको छ। डा. ज्ञवालीका अनुसार यसलाई पुराना दलहरूप्रतिको वितृष्णा र नयाँ दलप्रतिको जनताको अपेक्षाका रूपमा लिन सकिन्छ।
‘रास्वपाले पाएको मत स्वाभाविक हो, तर उनीहरूले पनि जनताका अपेक्षाहरूलाई सम्बोधन गर्न सकेनन् र पुराना दलहरू जस्तै व्यवहार गरे भने यो जनमत फेरि अर्को विकल्पको खोजीमा जान सक्छ,’ उनले चेतावनी दिए।
प्रकाशित: ४ चैत्र २०८२ १९:४२ बुधबार

