नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र जनताका अधिकारमाथि कुनै पनि किसिमको छेडखानी भए सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) द्वारा शनिबार पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले वर्तमान सरकारको गतिविधिप्रति लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्।
उनले संविधान संशोधनका नाममा प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रयास भए आफ्नो पार्टीले प्रतिकार गर्ने बताए।
‘हामी संविधान संशोधनको विरोधी होइनौं, तर संशोधन महिला, दलित र सीमान्तकृत समुदायको अधिकार थप्नका लागि हुनुपर्छ,’ दाहालले भने, ‘संघीयतालाई कमजोर पार्ने वा अधिकार खोस्ने नियत देखिए हामी सदन र सडकबाट प्रतिवाद गर्छौं।’
उनले राष्ट्रिय हित र जनअधिकारका पक्षमा पार्टीले सुरुदेखि नै स्पष्ट अडान राख्दै आएको स्मरण गराए।
विगतका निर्वाचनहरूको स्मरण गर्दै उनले २०६४ र २०७४ मा कम्युनिस्ट शक्तिले प्राप्त गरेको सफलतालाई पुनः प्राप्त गर्ने गरी पार्टी पुनर्गठन गरिने बताए।
संयोजक दाहालले आगामी ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ सङ्गठनलाई गाउँतहसम्म सुदृढ बनाइने घोषणा समेत गरे।
उनले विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि सरकारले प्रश्न उठाउन खोजेको भन्दै त्यसप्रति सतर्क रहन कार्यकर्तालाई निर्देशन दिए।
‘हामी परिस्थितिको सूक्ष्म समीक्षा गर्दैछौं, जनताको बीचमा गएर सङ्गठन बलियो बनाए अर्को पटक फेरि देशको निर्णायक शक्ति बन्न सकिन्छ,’ उनले थपे।
प्रकाशित: २८ चैत्र २०८२ १७:५७ शनिबार





