३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

बैजनाथपुर रंगशाला प्रदेशलाई दिए दुई वर्षभित्र सम्पन्न गर्छौंः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा क्रिकेटको विकास र तल्लो तह (ग्रास रुट) बाटै खेलाडी उत्पादनका लागि प्रदेश सरकारले विशेष योजना र बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

नेपाल क्रिकेट संघ (क्यान) को विराटनगरमा आयोजित दुई दिने वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका ९ स्थानमा ग्रासरुटको क्रिकेट प्रशिक्षण केन्द्र स्थापनाका लागि बजेट छुट्याउने बताए । उनले विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला प्रदेश सरकारलाई हस्तान्तरण गरेमा दुई वर्षभित्रै अत्याधुनिक र सुविधासम्पन्न रंगशाला निर्माण गरेर सञ्चालनमा ल्याउने प्रस्टाए ।  

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्रदेश सरकारलाई साझेदार बनाउन संघलाई आग्रह गर्दै, मुख्यमन्त्री कार्कीले भने, ‘सो संस्करणको प्रथम पुरस्कारको रकम प्रदेश सरकारले व्यवस्थापन गर्ने र एनपीएल टोली ‘विराटनगर किंग्स्’ को नाम परिवर्तन गरी ‘कोशी अर्नाज’ राख्न आग्रह गर्र्दछु ।’  

यस्तै, सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले प्रदेश खेलकुद विकास बोर्डमा पदाधिकारी नियुक्त हुन नसक्दा बजेट परिचालनमा केही समस्या देखिएको बताए ।  

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) का वरिष्ठ व्यवस्थापक रोहित पोद्दारले नेपालमा आयोजना हुने अन्डर–१९ महिला क्रिकेट विश्वकपको सफलताको कामना गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित मेहताले क्रिकेटको विकासमा राखेपको निरन्तर सहयोग रहने बताए ।  

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले एनपीएलका कारण गाउँ–गाउँसम्म क्रिकेटको क्रेज बढेको र यसले व्यावसायिकता ल्याएको धारणा राखे ।  

प्रकाशित: २७ वैशाख २०८३ २०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App