राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले नेपाल प्रहरीको महानिरीक्षक बन्नका लागि ७ करोड रुपैयाँ बुझाउन आएको प्रस्ताव अस्वीकार गरेको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उनले यदि आफूले त्यतिबेला पैसा बुझाएको भए आज सांसदका रूपमा सदनमा पुग्ने नैतिक धरातल बाँकी नरहने उल्लेख गरे।

पूर्व एआईजीसमेत रहेका पोखरेलले प्रहरी सङ्गठनमा हुने बढुवा र राजनीतिक हस्तक्षेपबारे खुलाउँदै त्यसबेला आफूलाई आर्थिक प्रलोभनमा पार्न खोजिएको दाबी गरे।
‘मलाई आईजीपी बनाउनका लागि अनौपचारिक रूपमा ७ करोडको माग गरिएको थियो, जुन आरजु राणा र उनी वरपरका बिचौलियाहरूसँग जोडिएको थियो,’ उनले भने, ‘मैले त्यसलाई ठाडै अस्वीकार गरेँ।’
सांसद पोखरेलले आफूले इमानदारीपूर्वक २९ वर्ष सेवा गरेको र पदका लागि पैसा बुझाउनु आफ्नो नैतिकताविपरीत हुने ठानेर प्रस्ताव नकारेको सुनाए।
उनले थपे, ‘मैले पैसा बुझाएको भए सायद म आईजीपी हुन्थेँ होला, तर मभित्रको इमानदार मान्छे मर्थ्यो। आज म जुन गर्वका साथ सांसद भएर सुशासनको कुरा गरिरहेको छु, त्यो अवसर पाउने थिइनँ।’
आफूलाई आईजीपी हुनबाट रोक्न राज्य संयन्त्र र राजनीतिक नेतृत्वले योजनाबद्ध रूपमा अन्याय गरेको उनको आरोप छ। आफूले तत्कालीन अख्तियार प्रमुख प्रेम राईलाई समेत भेटेर उक्त कुरा जानकारी गराएको उल्लेख गरे।
‘त्यतिबेलाको अन्यायले मलाई राजनीतिमा आउन र थप ऊर्जाका साथ काम गर्न प्रेरित गर्यो,’ पोखरेलले भने, ‘हिजोको त्यो खराब पद्धति र भ्रष्टाचार विरुद्ध लड्नकै लागि मैले रास्वपा रोजेको हुँ।’
अहिलेको सरकारले विगतका यस्ता विकृतिहरूलाई अन्त्य गरी प्रहरी र निजामती सेवामा पारदर्शी सरुवा बढुवा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।
हेर्नुहोस् अन्तर्वाता -
प्रकाशित: २ वैशाख २०८३ २०:४७ बुधबार




